• १३ चैत २०८१, बुधबार

श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्या प्रयास

blog

घटनास्थल । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का
बिर्तामोड, चैत १२ गते ।
झापाको कनकाई नगरपालिका ५ नारायणदल चौकमा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या प्रयास गरेका छन् ।

स्थानीय ४० वर्षीय लालबहादुर मंग्रातीले ४० वर्षीया श्रीमती मनिसा मग्रातीको हत्या गरी आत्महत्या प्रयास गरेका हुन् । उनीहरु स्थानीय योगेन्द्र बसेलको घरमा भाडामा बस्दै आएका थिए ।

घरमालिक भने वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको कनकाई ५ का वडाअध्यक्ष कृष्णबहादुर राईले गोरखापत्रलाई बताउनुभयो ।

सोमबार राति श्रीमान श्रीमती झगडा गर्दा श्रीमतीको मृत्यु भएपछि श्रीमातले समेत आफ्नो घाटी रेटेर आत्महत्या प्रयास गरेका थिए । तर उनको मृत्यु नभएपछि आफैँले मङ्गलबार बिहान ४ बजेतिर छिमेकीलाई फोन गरेर श्रीमती मरेको बताएपछि गाउँलेले जनप्रनिनिधि र प्रहरीलाई खबर गरेको कनकाई नगरपालिका ५ का वडासदस्य डिल्लु उप्रेतीले बताउनुभयो ।

बिहान जनप्रतिनिधि र प्रहरी घटनास्थलमा पुग्दा श्रीमान लालबहादुर ओछ्यानमै घाइते अवस्थामा सुतिरहेको र श्रीमती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । हाल श्रीमानलाई उपचारका लागि विएण्डसी अस्पताल बिर्तामोड लगिएको र घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

घाइते श्रीमानले आफुले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेको बताइएको छ । तर यसबारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दुबै श्रीमान श्रीमती ज्याला मजदुरी गर्दै आएका थिए ।