शालिग्राम नेपाल
चितवन, पुस १० गते । पृथ्वीमा भएको जनावर मध्य सबैभन्दा ठुलो हात्ती । यही हात्तीको प्रमुख वासस्थान चितवन निकुञ्ज र यसको आसपास हो । हात्तीकै कारण चितवनको पर्यटन विकासमा सकरात्मक प्रभाव परेको छ ।
पश्चिम चितवनको मेघौली अन्तर्राष्ट्रिय हात्तीपोलो खेलकै कारण विश्वमा परिचित भएको थियो । पशु अधिकारको आवाज उठेपछि करिव १० वर्षभन्दा अगाडिबाट हात्तीपोलो खेल बन्द भएको छ । मेघौलीमा हात्तीपोलो खेल बन्द भएपछि मेघौलीमा पर्यटनका गतिविधिमा कमी आएको छ ।
निकुञ्ज भित्रको टाइगर टप्स बन्द हुने, हात्ती पोलो बन्द हुने भएपछि यहाँको विमानस्थल समेत बन्द भएको छ । हात्तीपोलो खोल वन्दबाट सुरु भएको पर्यटकीय गतिविधि विस्तारै अन्य समेत बन्द भएपछि यहाँको पर्यटकीय चहलपहलमा समेत भारी प्रभाव परेको छ । मेघौलीमा हात्तीपोलो बन्द भएपछि पर्यटकीय नगरी सौराहामा हात्ती दौड तथा सुन्दरी प्रतियोगिता सञ्चालन भएको छ ।
हरेक वर्ष सञ्चालन हुँदै आएको हात्ती महोत्सव मार्फत हात्तीलाई दौडाउन नहुने, खेल खेलाउनै नहुने भन्दै विरोध सुरु भएको छ । यही पुस ११ गतेबाट हुने हात्ती महोत्सवको पशु अधिकारकर्मीले विरोध गर्दै आएका छन् । तर विज्ञहरु भने हात्तीलाई समान्य दौडमा सहभागी गराउदा, फुटबल खेलाउदा कुनैपनि नकरात्मक प्रभाव नपर्ने बताउछन् ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्व पशुविज्ञ डा. कमल गैरेले भन्नुभयो, “केही काम नगरी राख्ने हो भने हात्तीको स्वास्थ्य खराब हुन्छ । हात्तीलाई फुटवल खेलाउदा, दौडाउदा उसको शरीरमा उर्जा आएर व्यायाम हुने भएकाले यो अझ राम्रको कार्य हो ।”
निकुञ्जमा ३० वर्ष हात्ती विज्ञका रुपमा काम गर्नु भएका डा. गैरेले दैनिक सयौ किलोमिटर हिँड्ने, भारी बोक्ने, काम गर्ने गर्दा उसलाई स्वास्थ्यमा कुनैपनि प्रतिकुल प्रभाव नपर्ने बताउनुहुन्छ । हात्तीका कारण पर्यटनको विकास भएको छ । यदी हात्तीको स्वास्थ्यमा नकरात्मक प्रभाव पर्ने हो भने हामीले त्यसको विरोध गदर्छौ, तर हात्ती महोत्सवमा हुने गतिविधिले कुनै असर नपर्ने उहाँको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्व पशु चिकित्सक तथा हात्ती विज्ञ डा. विजयकुमार श्रेष्ठले निकुञ्जको सुरक्षार्थ हात्तीले धेरै काम गर्ने भएकाले महोत्सवमा हुने गतिविधि सामान्य भएको बताउनु हुन्छ । “हात्तीलाई फुटबल खेलाउने सामान्य दौडाउने कार्यले उसलाई अझ स्फूर्ती आउने हुन्छ,” श्रेष्ठले भन्नुभयो, “एउटा हात्तीले तीन चारजना मानिस बोकेर गस्ती गर्छ, धेरै किलोमिटर हिँड्छ । फेरी घाँस दाउरा, मानिस बोकेर हिँड्छ । समान्य फुटबल तथा खेल खेलाउनु भनेको कुनै याताना हुँदैन ।”
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले ठुलो शरीर भएको जनावार भएकाले सामान्य गतिविधि गर्दा कुनै असर नपर्ने बताउँनुहुन्छ । उहाँले भन्नुभयो “हात्ती दोड तथा महोत्सवमा हुने गतविधिको विषयमा अध्ययन टोली बनाएर यथार्थ विवरण ल्याएमा अहिले भइराखेको विवाद अन्त्य हुनेछ ।” हात्ती महोत्सव तथा अन्य पर्यटकीय गतिविधिमा सरकारी हात्ती प्रयोग गरिएको छैन । प्रमुख पन्तले भन्नुभयो “निजी हात्ती प्रयोग हुने गतिविधिमा स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको देखिएको छैन । स्वास्थ्यमा असर हुने गरी, दवाव दिएर खेलाउन भने हुँदैन ।”
बर्दिया निकुञ्जका प्रमुख तथा हात्ती विज्ञ डा. अशोक रामले नेपालमा हात्तीलाई याताना हुने जस्ता गतिविधि नभएको बताउनुभयो । हात्तीसँग सम्बन्धित भएका खेल तथा कार्य जनावर मैत्री नै भएकाले अधिकारको विषय उठाउदा भएका गतिविधिको अध्ययन गर्द अधिकारकर्मीलाई उहाँले सुझाव दिनुभयो । खेलकुदका कार्यमा सहभागी गराउदा हात्तीमा कुनैपनि असर पर्दैन उहाले भन्नुभयो कुनै याताना भने दिन हुँदैन ।
पर्यटन विज्ञ डा.प्राध्यापक विश्व सुवेदीले मेघौलीको हात्तीपोलो बन्द भएपछि यहाँको पर्यटनमा अतुलनीय क्षति पुगेको बताउनुहुन्छ । टाइगर टप्सलेनै जङ्गल सफारीको सुरुआत गरेको थियो । अहिले पोलो पन्द गराएपछि विमानस्थल बन्द भयो । यहाँको पर्यटन २० वर्ष अगाडिको जस्तो चहलपहल बनाउन सकेका छैनौ उहाँले भन्नुभयो । यहाँको पहिचान भनेकै हात्ती हो । हात्तीलाई संरक्षण गर्दै उसैको गतिविधिलाई देखाएर पर्यटन क्षेत्रको विकास गर्नु पर्दछ ।
क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालले पशु अधिकारकर्मीको विरोधका कारण हामीले धेरै गतिविधिमा सुधार गरेर अहिले हात्ती प्रदर्शन मात्र गर्ने कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुन्दरी प्रतियोगिता, भोज, फुटबल जस्ता सामान्य कार्यक्रम आयोजना गरेका छौं । हात्तीलाई कुनैपनि पिडा दिने कार्य नगर्दापनि विरोध भएकोमा चिन्ता लागेको छ ।”
क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरेले हात्ती महोत्सवलाई परिस्कृत गरी हात्तीलाई सुविधा हुने गतिविधि मात्र समावेस गरिएको जानकारी दिनुभयो । सौराहा र समग्र चितवनको पर्यटनको पहिचान नै हात्ती र यसको गतिविधि भएकाले हामीले यसैको प्रचार गरेर पर्यटनको विकास गर्नुपर्ने बताउनुभयो । सौराहाको बाघमारा चौरमा यही ११ गतेदेखि हात्ती महोत्सव आयोजना हुँदैछ ।