विकास अधिकारी
पश्चिम नवलपरासी, चैत १२ गते । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवाले पशुपालक किसान लाभान्वित भएका छन् । विज्ञ केन्द्रले पशुपालक किसानको गोठमै पुगेर ‘डोर टु डोर’ सेवा सञ्चालन गरेपछि किसानहरू लाभान्वित भएका हुन् ।
सुस्ता एक रुपौलिया बस्ने ज्योती प्रसाद पंगेनीले गाईभैंसी पाल्दै आउनुभएको छ । विगत लामो समयदेखि पशुपालन गर्दै आउनुभएका पंगेनीलाई पशुमा हुने बाँझोपनको समस्याले सताउदै आएको थियो । जसका कारण पँगेनीले पशुपालनबाट अपेक्षित फाइदा लिन सक्नुभएको थिएन । तर प्रदेश सरकारअन्तर्गत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीमा खबर गरेपछि पशु चिकित्सकसहितको टोलीले पंगेनीको घरमै पुगेर बाँझोपन समस्याको उपचार गरी समस्या समाधान गरिदियो । यो सेवाले पंगेनीलाई पशुपालनमा उत्साह थपेको बताउनुहुन्छ ।
यसैगरी, सुस्तामै पन्थी गाई फार्म सञ्चालन गर्दै आउनुभएका दिनेश कुमार पन्थी पनि पशुको बाँझोपनको समस्याले हैरान हुनुहुन्थ्यो । तर प्रदेश सरकार मातहतको पशु सेवा विज्ञ केन्द्रको ‘डोर टु डोर’ सेवा मार्फत पन्थीको घरमै पुगेर पशु चिकित्सकसहितको टोली पुगेपछि उहाँको पनि समस्या समाधान भयो । निःशुल्क औषधीसहितको उपचार सेवाले पन्थीले पाल्दै आउनुभएका पशुमा पनि बाझोपनको समस्या हटेको छ ।
त्यस्तै, बर्दघाट ८ का कृष्णबहादुर थापाले पालेका दुई दर्जन गाईमध्ये पाँच वटामा गर्भ सम्बन्धी समस्या थियो । प्रायजसो पशुहरूमा बाँझोपनको समस्या देखिदै आएकोमा उचित प्राविधिक सेवा नपाउदा थापा पशुपालनबाटै पलायन हुने अवस्थामा हुनुहुन्थ्यो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको पशु चिकित्सकसहितको टोली पंगेनीको घरमै पुग्यो र बाँझोपनको समस्याको उपचार गरेपछि भने उहाँ पशुपालन तर्फ उत्साहित हुनुभएको छ । “पशुमा गर्भनै नबस्ने, बसे पनि तीन चार महिना भित्र खेर जाने समस्या थियो । तर अहिले पशुका डाक्टर आएर उपचार गरेपछि भने समस्या देखिएको छैन,” थापाले भन्नुभयो ।
पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा जिल्लाको सुस्ता, सुनवल र बर्दघाटका विभिन्न स्थानमा डोर टु डोर सेवा सञ्चालन गरिसकेको छ । तीन स्थानीय तहमा विज्ञ केन्द्रले ११३ गाई, ६६४ भैंसी र एक् हजार ६०६ वटा बाख्राको उपचार गरेकोमा ८३ प्रतिशत पशुमा गरिएको बाँझोपनको उपचार सफल भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा अधिकृत सुरेसप्रसाद मिश्रले किसानहरूको गोठमा पुगेर पशुहरूमा देखिएको बाँझोपनसहित अन्य समस्याको विषयमा बुझेर उपचार गरिएको बताउनुभयो । पशुहरूलाई आवश्यक औषधी पनि निःशुल्क प्रदान गरिएको पनि विज्ञ केन्द्रले जनाएको छ ।
विज्ञ केन्द्रले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा सरावलको हात्तिवन र प्रतापपुरको नन्दपुरकुटीमा निःशुल्क पशु स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । पशुपालक किसानहरुले गाउँघरमै विशेषज्ञ पशु चिकित्सकसहितको सेवाको लाभ लिन पाएपछि उत्साहित भएका छन् ।