अस्ट्रेलिया, चैत ११ गते । अस्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले विदेशमा समेत नेपाली सञ्चारमाध्यमले अग्रणी भूमिका निर्वाह गरेको बताउँदै यसले आफ्नो पेशाको मान र शान राख्नका लागि पनि निष्पक्ष भएर कलम चलाउनु जरुरी रहेको बताउनुभएको छ ।
अस्ट्रेलियाको सिडनीमा रहेर सामुदायिक पत्रकारितामा अग्रणी भूमिका निर्वाह गरिरहेको वचन न्यूजको वार्षिक उत्सव तथा कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत यादवले वचन न्यूजले समुदाय जोड्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
अस्ट्रेलियाको सिडनीबाट श्रब्यदृश्य तथा अनलाइन समाचार प्रकाशन र प्रसारण गरिरहेको वचन न्यूज समुदायमा केन्द्रित रहेको प्रवासी सञ्चारमाध्यम हो ।
कार्यक्रममा अस्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपालीका रुपमा चिनिएका नारायण प्रधान, नेपाल अस्ट्रेलियन डेमोक्रयाटिक फोरमका पूर्व अध्यक्ष अजय सिवाकोटी, सुरक्षा थापा रायमाझी, एन्टाका पूर्व अध्यक्ष सुवांश साह, बहुसांस्कृतिक समाज समन्वय अधिकृत मुन लुओ र नेपाली क्रिकेट प्रशिक्षक जगत टमाटालाई सम्मान गरिएको थियो । राजदूत चित्रलेखा यादवले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले छोटो समयमा समाजमा लोकप्रिय बनेको वचन न्यूजले यसरी नै सक्रियता कायम राख्ने विश्वास व्यक्त गर्नुभयो । पोखरेलले पत्रकारिता समाजको महत्त्वपूर्ण अङ्ग भएकाले यसले सचेत गराउनुका साथै असल कार्यको प्रशंसा गर्न पनि कन्जुस्याइँ गर्न नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल अस्ट्रेलिया पत्रकार सङ्घका अध्यक्ष कृष्ण तिवारीले अस्ट्रेलियामा नेपाली समुदाय बढ्दै गर्दा सञ्चार माध्यमको महत्त्व पनि बढेको बताउँदै यसले दिने सन्देश सत्य तथ्यमा आधारित भएर निष्पक्ष हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई सघाउने आरएफएम फेसीलिटी मेनेजमेन्टका रन्जित शाह र जेनिथ माइग्रेशनका तेज प्रजापतीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, सह संयोजक अरुण ठाकुर, तमु समाजका अध्यक्ष हेउपती गुरुङ, नारी निकुन्जकी संयोजक सङ्गीता चापागाई, नारी निकुन्जकी पूर्वसंयोजक सन्ध्या शाह, एन्जाका महासचिव गणेश भट्ट, सल्लाहकार डा. राजु मानन्धर लगायतले वचन न्यूजको सफलताको शुभकामना दिनुभएको थियो ।
समुदायको ऐनाको रुपमा रहेको सञ्चारमाध्यम र समुदाय एक आपसमा जोडिएका कारण प्रवासमा रहेर पनि नेपाली समुदायको हितमा समर्पित व्यक्तित्वहरुको सम्मान गर्नु यसको प्रमुख उद्देश्य रहेको वचन न्यूजका प्रधान सम्पादक जीवन रायमाझीले बताउनुभयो ।
होसन्ना नेपाली चर्चका पास्टर अनिस रिमालको प्रार्थनाबाट प्रारम्भ गरिएको कार्यक्रममा गस्पेल चर्चका विद्यार्थीहरुले सन्देशमूलक गीत सुनाएका थिए । कार्यक्रम अनुपमा बास्तोलाले सञ्चालन गर्नुभएको थियो ।