धीरेन्द्र प्रसाद साह
जनकपुर, चैत ११ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका विभिन्न होटलको अनुगमन गर्नुभएको छ । यहाँका होटलहरूमा अस्वच्छ खाना पाइने गुनासो बढेपछि आइतबार साँझ उहाँको नेतृत्वको अनुगमन टोलीले विभिन्न होटल तथा मिठाइ पसलको निरीक्षण गर्दै मापदण्ड विपरीत रहेका खाद्य सामग्री जफत गरेर नष्ट गरेको छ ।
अनुगमन टोलीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिहरू सहभागी थिए । अनुगमन टोलीले होटल जानकी भ्यू, हंसराज स्विट, लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको निरीक्षण गरेको थियो ।
मुख्यमन्त्री सिंहले अनुगमन अभियानलाई निरन्तरता दिने बताउँदै उपभोक्ताको स्वास्थ्य र अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाले होटल तथा मिठाइ पसलहरूलाई सफा र मापदण्डअनुरूप खाना उत्पादन तथा वितरण गर्न निर्देशन दिनुभयो ।
म्याद गुज्रिएको सामग्री जफत र नष्ट
यसैगरी, अनुगमन टोलीले विभिन्न होटल र मिठाइ पसलहरूबाट स्वास्थ्य जोखिमयुक्त सामग्रीहरू जफत गरी नष्ट गरेको छ । यहाँको हंसराज स्विटबाट ११ प्याकेट म्याद गुज्रिएको मःम, न्यू जानकी भ्यू होटलबाट गन्हाएको एक बाल्टिन तरकारी, कीरा परेको दाल र खुला ठाउँमा राखिएको तरकारी र लक्ष्मी मिष्ठान्न भण्डारबाट किरा परेको १० किलो मैदा बरामद गरी नष्ट गरेको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले बताउनुभयो । उहाँका अनुसार अनुगमन टोलीले रघुपति मिष्ठान्न भण्डार भने सफा र मापदण्डअनुरूप रहेको पाइएको थियो । प्रमुख साहका अनुसार आइतबार मात्र जनकपुरधामका १० वटा होटलको अनुगमन गरिएको थियो ।