बबई समाचारदाता
बर्दिया, चैत ११ गते । बर्दियाको गुलरिया नगरपालिका–१२ मा रहेको भैँसाहीगाउँका २५ किशोरी यतिबेला समाज परिवर्तनमा जुटेका छन् । वडालाई बालविवाहमुक्त गराउनेदेखि उनीहरू लागुऔषध प्रयोग नियन्त्रण, महिला हिंसा रोकथामदेखि विभिन्न काममा सक्रिय बन्दै गरेको किशोरी क्लबका अध्यक्ष सन्ध्या थारूले बताउनुभयो ।
गाउँमा किशोरी क्लब गठन भएपछि अहिले गाउँको मुहार नै परिवर्तन भएको छ भने गाउँलाई बालविवाहमुक्त गाउँ बनाउन उनीहरू सफल भएका छन् ।
भैँसाहीगाउँमा २५ जना किशोरी मिलेर एउटा किशोरी क्लब गठन गरेका छन् । बिदाको दिन होस् या फुर्सदको, उनीहरू एक ठाउँमा जम्मा हुन्छन् र गाउँका घर घर पुगेर बालबिवाह नगर्न र नगराउन अनुरोध गर्ने गर्दछन् । भैँसाहीगाउँमा गठन भएको किशोरी समूहमा १५ देखि १८ वर्षसम्मका किशोरी धेरै देख्न पाइन्छ । विद्यालयको कक्षाकोठादेखि गाउँघरसम्म उनीहरूले सचेतना फैलाउँदै आएका छन् । किशोरी समूह गठन भएपछि लागुऔषध प्रयोग नगर्न अनुरोध गर्दै घर घरमा पुग्ने गरेको थारूले बताउनुभयो । किशोरी क्लबलाई बाँके युनेस्को क्लबले सहयोग गर्दै आइरहेको छ ।
नेपाल सरकराले सन् २०३० भित्र नेपाललाई बालविवाहमुक्त गर्ने लक्ष्यबमोजिम बालविवाह न्यूनीकरणका लागि काम गर्दे आइरहेको क्लबले जिल्लामा रहेका किशोरी क्लबलाई परामर्श दिने मासिक रूपमा उनीहरूलाई तालिम दिने र अध्यनका लागि अध्यन सामग्रीको समेत व्यवस्था मिलाएको बाँके युनेस्को क्लबका सशक्त बालिका परियोजनाका संयोजक गोविन्दप्रसाद लामिछानेले बताउनुभयो ।