• १९ चैत २०८१, मङ्गलबार

‘चुरे संरक्षणमा गम्भीर नबने मधेश सङ्कटमा पर्ने’

blog

चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, चैत १० गते ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले चुरे जैविक विविधताको भण्डार रहेकाले यसको संरक्षणमा गम्भीर नबने मधेश सङ्कटमा पर्ने बताउनुभएको छ । जनकपुरमा चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले चुरे मधेशको जीवन पद्धतिसँग जोडिएकाले यसको संरक्षणका लागि थप प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “चुरे मधेशका लागि खानेपानीको प्रमुख स्रोत पनि हो । यहाँबाट उत्पत्ति भएका नदी र भूमिगत जलधाराले मधेश क्षेत्रको सिँचाइ र खानेपानीको आवश्यकता पूर्ति गर्दै आएको छ । तर चुरे विनाशका कारण पानीको स्रोत घट्दै गइरहेको छ ।” चुरे संरक्षणमा गम्भीर पहल भएन भने मधेश क्षेत्र नै खतरामा पर्ने उहाँले चेतावनी दिनुभयो ।

प्रदेशसभा सदस्य रामअशिष यादवले पनि चुरे संरक्षणको महत्त्वलाई जोड दिँदै भन्नुभयो, “चुरे जोगाउन सकिएन भने त्यसको पहिलो प्रभाव मधेशमा पर्नेछ र मधेशको कृषि क्षेत्र ध्वस्त हुनेछ । सङ्घीय, प्रदेश र स्थानीय सरकारले वैज्ञानिक प्रविधि अपनाएर चुरे संरक्षणलाई प्राथमिकता दिनुपर्छ ।”

सरकारले लालपूर्जा वितरणको नाममा चुरे दोहनलाई प्रश्रय दिने नीतिहरू खारेज गर्नुपर्ने बताउँदै उहाँले चुरे क्षेत्रको उत्खनन, अव्यवस्थित बस्ती विस्तार, र वन फँडानी रोक्नका लागि सबै पक्ष गम्भीर हुन आवश्यक भएको बताउनुभयो ।

मधेश प्रदेशका निमित्त वन निर्देशक सुजितकुमार झाले चुरेको संरक्षणका लागि चुरे क्षेत्रका स्थानीयवासी गम्भीर बनेर यसको संरक्षणमा अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘चुरे संरक्षण केवल पर्यावरणीय मुद्दा मात्र होइन यो, नेपालकै खाद्य सुरक्षा, जल स्रोतको व्यवस्थापन र सम्पूर्ण मानव सभ्यताको अस्तित्वसँग गाँसिएको विषय हो ।’’ सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहको संयुक्त प्रयासबिना चुरे संरक्षण सम्भव हुन नसक्ने उहाँले बताउनुभयो ।