पहलमान घर्ती
होलेरी (रोल्पा), चैत १० गते । रोल्पाको निगालपानी जिनावाङ कृषि सडक कालोपत्रे हुने भएको छ । संघ र प्रदेश सरकारको सहलगानीमा उक्त सडक कालोपत्रे गर्न लागिएको हो । सडक कालोपत्रेका लागि त्रिवेणी ब्राह्ममायाणी कन्स्ट्रक्सन प्रालि काठमाडौंले भ्याटसहित ४२ करोड ८१ लाख ४१ हजार तीन सय १९ रुपियाँमा निर्माणको जिम्मा लिएको छ ।
निगालपानी जिनावाङ कृषि सडकअन्तर्गत कोइलादेखि झ्याम बजारसम्मको २१ दशमलव ४ किलोमिटर सडक कालोपत्रे हुन लागेको सडक पूर्वाधार कार्यालय रोल्पाका इन्जिनियर लोकप्रसाद विष्टले बताउनुभयो । सडक कालोपत्रेका लागि २०८१ चैत ५ सम्झौता भइ आगामी २०८४ असोज ४ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।
यो सडक कालोपत्रे पूरा भयो भने रोल्पाको पश्चिम भेगका जनतालाई प्रत्येक्ष फाइदा पुग्ने छ । विशेष गरी गंगादेव गाउँपालिकामा उत्पादन हुने कृषि उपजलाई बजारसम्म पुर्याउन सहज हुने गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले बताउनुभयो । कच्ची सडकका कारण बर्खामा यातायातका सधान सञ्चालन हुन कठिन हुने गरेको थियो । गंगादेव गाउँपालिका आलु र स्याउका लागि प्रख्यात ठाउँ हो ।
यातायातका साधन बाह्रै महिना सञ्चालन हुन नसक्दा उत्पादन भएकोे कृषि उपजलाई बजारसम्म पुर्याउन यहाँका किसानलाई गाह्रो हुने गरेको थियो । सडक कालोपत्रे भपछि सहज यातायातका सधान आउजाउ हुने यहाँका किसानले अपेक्षा गरेका छन् ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहाडको उत्पादनलाई तराईसम्म नजोड्दासम्म पहाडको विकास नहुने बताउनुभयो । पहाडमा पनि कृषि क्षेत्रमा राम्रो ठाउँ हुन चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘त्यसका लागि यहाँको सडक पूर्वाधारको विकास राम्रो हुन जरुरी छ । जिनावाङ कृषिका लागि मोडेल ठाउँ हो ।’’ जिबाङ उत्पादन हुने कृषिको मोडेललाई प्रदेशको सबै पहाडी जिल्लाहरुमा लागू गर्न सक्ने हो भने आम्दानीको स्रोत बढ्ने चौधरीले बताउनुभयो । सडक निर्माणका लागि बजेटको अभाव हुन नदिने चौधरीको भनाइ छ ।
यस्तै, लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले जनताको विकासका लागि सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । सडक पूर्वाधारले जनताको जीवन स्तरमा सुधार ल्याउने उहाँले बताउनुभयो ।