• १३ वैशाख २०८२, शनिबार

बेरोजगार युवालाई गाउँमै रोजगारी

blog

हिमाली गाउँपालिकाले तालिम दिएपछि गाउँको विकासमा जुटेका युवा । तस्बिर : राजबहादुर भण्डारी

शेरबहादुर सार्की 

बाजुरा, चैत १० गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अधिकांश बेरोजगार युवाले पछिल्लो समय गाउँमै रोजगार पाउन थालेका छन् । यहाँका अधिकांश युवकयुवती पहिला गाउँमा केही गरी खाने काम नमिलेपछि रोजगारी गर्नका लागि भारतका विभिन्न ठाउँमा जाने गरेका थिए । 

यही अवस्थालाई मध्यनजर गर्दै पछिल्लो समय यहाँको गाउँपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगार दिने गरी सिकर्मी, डकर्मी, सिलाइकटाइ, पलम्बर हाउस वाइरिङ फर्निचरलगायतका विभिन्न किसिमका तालिम दिन थालेको हो । पालिकाले यसरी युवालाई तालिम दिएपछि अहिले यहाँका अधिकांश बेरोजगार युवालाई गाउँकै विकास निर्माणका काममा लगाउन थालेको छ । 

गाउँमा हुने गरेका सबै विकास निर्माणका योजनाको काम अहिले उनीहरूलाई नै दिन थालेपछि पछिल्लो समय यहाँका बेरोजगार युवाले गाउँमै काम पाउन थालेको हिमाली गाउँपालिकाले जनाएको छ ।

पहिला हातमा केही सिप थिएन । सिप नहुँदा गाउँमा केही कामसमेत पाउँदैन थियो । अहिले सिप सिकेपछि यहाँ आएका विकास निर्माणका योजनामा काम मिल्न थालेको हिमाली गाउँपालिका–४, फैतीका अक मल्लले बताउनुभयो । अहिले त्यही कामको आधारले स्थानीय सरकारले गाउँमा दिएका विभिन्न योजनामा मैले काम पाउने गरेको बताउँदै उहाँले अहिले घरमै राम्रो काम पाउन थालेपछि छोराछोरी घरपरिवारलाई पालनपोषण गर्न सहज भएको मल्लले बताउनुभयो ।

अहिले यहाँका अधिकांश युवा भारतमा जान छोडेर गाउँकै विकास निर्माणको काममा रोजगारी गर्न थालेका छन् । जसका कारण अहिले यहाँका युवालार्ई आफ्नै काम हातमा दाम मिल्ने गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रूपान्तरण कार्यक्रममा अहिले यहाँका युवालाई गाउँमै विभिन्न तालिम तथा काम दिने गरेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।

हिमाली गउँपालिकाको साझेदारी र आइडिइस, आइएनएफको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँ २२ वटा विद्यालयको सुविधायुक्त भान्सा भवन निर्माण भइरहेका छन् । झन्डै दुई करोड रुपियाँको लागतमा निर्माण हुने यी भवनमा अहिले हामीले यहाँकै उत्पादन गरेको जनशक्ति परिचालन गरेको छ ।