रौतहट समाचादाता
रौतहट, चैत १० गते । शुक्रबार मध्यरातमा आएको हावाहुरीसहितको असिनापानीले खाद्यान्न तथा तरकारी बाली नष्ट हुँदा रौतहटको उत्तरी क्षेत्रका किसानले क्षति बेहोर्नु परेको छ । जिल्लाको उत्तरी क्षेत्रमा मात्र परेको असिनापानीले उक्त क्षेत्रका किसानको मकै, गहुँ, मसुरो र तरकारी बाली नष्ट गरी क्षति पुर्याएको हो ।
विशेष गरी चन्द्रपुर, गुजरा, फतुवाविजयपुर र वृन्दावन नगरपालिकाका विभिन्न वडामा लगाइएका बालीनाली नष्ट भएको छ । गुजरा नगरपालिका–१ का किसान हिरालाल राउतको डेढ बिघा जमिनमा लगाएको मकै पूर्ण रूपमा सखाप भएको छ । यस्तै फतुवाबिजयपुरका किसान गोविन्द चौधरीको १० कट्ठा जमिनमा लगाएको लसुन र प्याज पनि सखाप भएको छ । धेरै मेहनत गरेर रोपको लसुन प्याज एकै रातमा सखाप भएपछि ठुलो चिन्ता परेको उहाँले बताउनुभयो । यस्तै चन्द्रपुर–६ का किसान तेजीलाल महतोको एक बिघा जमिनको मकै र १० कट्ठाको गहुँ पूर्ण रूपमा नष्ट भएको छ ।
असिनापानीको कारण वृन्दावन–१, बलेरीका किसान प्रेमलाल पटेल, रवीन्द्र पटेल र हेमन राउतेसमेत ठुलो नोक्सानी बेहोर्नु परेको गुनासो गर्नुभएको छ । प्रेमलालको १० कट्ठा, रवीन्द्रको १५ कट्ठामा लगाएको मकै र हेमनको १५ कट्ठाको गहुँबाली र १० कट्ठाको मकै बालीमा ठुलो क्षति पुगेको छ । उक्त क्षेत्रमा व्यावसायिक रूपमा तथा करेसाबालीमा लगाएको तरकारी बालीसमेत नष्ट भएको वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलले जानकारी दिनुभयो । उहाँका अनुसार बलेरी क्षेत्रमा मात्रै करिब पाँच सय बिघा जमिनमा लगाएको मकैबाली नष्ट भएको छ । गहुँ बाली र तरकारी बालीमा पनि ठुलो क्षति पुगेको छ ।
चन्द्रपुर नगरपालिकाका कृषि अधिकृत सन्दीप देवकोटाले पालिकाभित्र रहेको खेतीयोग्य जमिनको करिब ६० प्रतिशत भूभागमा मकै खेती गरिएको र ३० प्रतिशत जमिनमा गहुँ र बाँकीमा तरकारी र दलहन खेती भएको बताउनुभयो । उहाँका अनुसार असिनाका कारण धानचमर निस्किएका र सुत्ला च्यापेका मकै पूर्ण रूपमा नष्ट भएको छ । स्थानीय सरकारले क्षतिको विवरण सङ्कलन गरी राहतका लागि प्रदेश तथा सङ्घ सरकारसमक्ष पहल गरिदिन किसानले अनुरोध गरेका छन् ।