• ११ चैत २०८१, सोमबार

कोषको दाबी भुक्तानी तेह्र अर्ब

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत १० गते । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झन्डै साढे १३ अर्ब रुपियाँ भुक्तानी गरेको छ । सामाजिक सुरक्षा योजनामा योगदान गर्न सुरु गरेयता विभिन्न चार योजना अन्तर्गत दुई लाख दुई हजार ९०६ योगदानकर्तालाई १३ अर्ब ३७ रुपियाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । 

सामाजिक सुरक्षा योजना २०७५ मङ्सिर ११ गते सुरु गरे पनि २०७६ साउन १ देखि कोषमा रोजगारदाता र योगदानकर्ताले रकम जम्मा गर्न थालेका हुन् । कोषका अनुसार २०७६ साउनदेखि २०८१ चैतसम्म कोषमा योगदान गरेर विभिन्न चार वटा योजनामा भुक्तानी लिनेमध्ये सबैभन्दा धेरै वृद्धावस्था सुरक्षा योजना अन्तर्गतका छन् । सो योजना अन्तर्गत सो अवधिसम्म एक लाख एक हजार ७५५ योगदानकर्ताले ११ अर्ब २० करोड ८० लाख ९४ हजार ३९१ रुपियाँ भुक्तानी लिएको कोषले जनाएको छ । 

यस्तै औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत हालसम्म नौ हजार ८५४ जनाले एक अब ७७ करोड ९२ लाख पाँच हजार ९१५ रुपियाँ, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ६७२ योगदानकर्ताका परिवारले २१ करोड १५ लाख ८५ हजार ३८३ रुपियाँ र दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत चार हजार ९८४ योगदानकर्ताले १७ करोड ६६ लाख १५ हजार ६७२ रुपियाँ भुक्तानी लिएका छन् ।

यही चैत १ सम्म कोषमा ७५ अर्ब ७५ करोड रुपियाँ योगदान रकम सङ्कलन भएको छ । कोषमा मासिक रूपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ । 

यस्तै ३१ प्रतिशत रकममध्येबाट कोषले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि एक प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत छुट्याइने छ । 

कोषका अनुसार वृद्धावस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरेको छ । 

कोषमा औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार गरी कुल २० लाख ७९ हजार चार जना योगदानकर्ता कोषको योजनामा सूचीकृत भएका छन् । सूचीकृत हुनेमा वैदेशिक रोजगारीमा रहेका श्रमिक धेरै छन् । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयलाई अनिवार्य गरेको छ । 

कोषका अनुसार चैत १ सम्म कोषको योजनामा औपचारिक क्षेत्रतर्फका पाँच लाख ६८ हजार १८८, वैदेशिक क्षेत्रतर्फका १५ लाख १० हजार ६३, अनौपचारिक क्षेत्रतर्फका ४४६ जना र स्वरोजगार क्षेत्रका ३०७ जना सूचीकृत भएका छन् । कोषमा यस अवधिसम्म २० हजार २४४ रोजगारदाता आबद्ध छन् ।