• ११ चैत २०८१, सोमबार

कर्णालीबाट त्रिचालिस हजारलाई श्रम स्वीकृति

blog

ललित बसेल

सुर्खेत, चैत १० गते । कर्णाली प्रदेशमा दुई आर्थिक वर्षमा ४३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२४ मा कर्णाली प्रदेशमा दुई वर्षको अवधिमा ४३ हजारभन्दा बढी महिला तथा पुरुषले श्रम स्वीकृति लिएको उल्लेख छ । 

मन्त्रालयले गरेको अध्ययन अनुसार कर्णालीमा २४ हजार ९७४ जना पुरुष र १८ हजार ६६२ जना महिला गरी कुल ४३ हजार ६३६ जनाले श्रम स्वीकृति लिएको बताइएको छ । अध्ययन टोलीका सदस्य साकार सापकोटाले सन् २०२२ देखि २०२४ सम्मका दुई आव समेटेर प्रतिवेदन तयार पारिएको र सो अवधिमा नेपालमा १५ लाख नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको जानकारी दिनुभयो । सन् २००८ देखि २०२४ सम्म ५६ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएको पाइएको छ । यद्यपि पछिल्ला दुई वर्षमा महिला श्रमिकको सङ्ख्यामा १२.३ प्रतिशतले वृद्धि भएको छ । प्रदेशगत श्रम आप्रवासन अनुसार सबैभन्दा धेरै श्रमिक कोशी प्रदेशबाट विदेश गएका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशबाट गएका छन् । 

भारत जाने श्रमिकलाई श्रम स्वीकृति लिन नपर्ने भएकाले कर्णालीबाट काम गर्न बाहिर जाने श्रमिकको सङ्ख्या कम देखिएको छ । भारतबाट अन्य देशमा गएकाको मात्र अध्ययनमा उल्लेख गरिएको सापकोटाले बताउनुभयो । उहाँका अनुसार नेपालबाट रोजगारीका लागि सबैभन्दा बढी मलेसिया जाने गरेका छन् । त्यसपछि साउदी अरेबिया, कतार, कुवेत, बहराइन प्रमुख श्रम गन्तव्यका रूपमा रहेका छन् । 

कर्णाली प्रदेशबाट विशेष गरी नजिकको स्थान भएकाले भारततिर श्रम रोजगार गर्न बढी जाने गरेका छन् भने भारत जानेहरूको यकिन तथ्याङ्क पनि कुनै निकायसँग छैन । पछिल्लो समय रोमानिया, क्रोएसिया, पोल्यान्ड, साइप्रस, टर्की, अल्बानियालगायतका मुलुक पनि श्रमिकहरूका लागि नयाँ श्रम गन्तव्य बनेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये ४८.४ प्रतिशत श्रमिक अवर्गीकृत मजदुर रहेको पाइएको छ । श्रमिकका लागि जोखिमयुक्त तथ्याङ्क पनि प्रतिवेदनमा उल्लेख छ । 

यसैबिच दुई वर्षको अवधिमा १३ हजारभन्दा बढी नेपाली श्रमिकको मृत्यु भएको छ । सरदर हरेक दिन तीन जना श्रमिकले ज्यान गुमाउने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सन् २०२२ देखि २०२४ सम्म मलेसियामा मात्रै १०१ जना नेपाली श्रमिकको मृत्यु भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्त बोहराले श्रम ठगीसम्बन्धी मुद्दा पनि उल्लेखनीय रूपमा दर्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार देशभर १४ हजार ३५० ठगीका मुद्दा दर्ता भएका छन्, जसमा कर्णाली प्रदेशबाट मात्रै एक सय वटा मुद्दा दर्ता भएका छन् । जस अन्तर्गत ९५ पुरुष र पाँच महिला रहेका छन् । महिला श्रमिकका लागि युएई प्रमुख गन्तव्य रहेको छ । पछिल्ला दुई वर्षमा सबैभन्दा बढी महिला कामदार युएई गएका छन् भने त्यसपछि कतार र जोर्डन गएको उहाँले बताउनुभयो ।