• ११ चैत २०८१, सोमबार

कृषि उपकरणमा कृषिमन्त्रीकै अविश्वास

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १० गते । कृषि क्षेत्रमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले प्रश्न उठाउनुभएको छ । कृषि मेसिनरी व्यवसायी सङ्घको नवौँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्दै लैजानुपर्ने अवस्थामा गुणस्तरीयतामा विश्वस्त हुन सक्ने अवस्था नरहेको बताउनुभएको हो । 

“आफू स्वयम्ले किनेको हाते ट्याक्टर बिग्रिएर प्रत्येक वर्ष १० हजारभन्दा बढी खर्च गर्नु परेको वास्तविकता छ,” उहाँले भन्नुभयो “५० हजार हालेर किनेको मेसिन मर्मत गरिरहन किसानले खर्च धेरै गर्न परिरहेको छ, यो अवस्थाको अन्त्य हुनु पर्छ ।”

कृषि उपकरण खरिद गर्दा गुणस्तरमा ध्यान दिन पनि किसानलाई मन्त्री अधिकारीले आग्रह गर्नुभयो । कृषि यान्त्रिकीकरणको प्रवर्धनमा व्यवसायीहरूको भूमिका महìवपूर्ण रहेको र अब यस्ता यन्त्र उपकरण स्वदेशमै बनाउन पहल गर्न उहाँले सुझाव दिनुभयो । 

उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दिगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै सरकार अघि बढेको सो क्रममा उहाँले बताउनुभयो । 

आधुनिक कृषियन्त्र तथा उपकरणमा अनुदानका कार्यक्रम निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि हुँदै गइरहेको उहाँको भनाइ थियो । यसलाई अझ प्रभावकारी बनाउन सरकार सरोकारवाला पक्षसँग सहकार्य गर्न तयार रहेको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।