• १२ साउन २०८१, शनिबार

‘गठबन्धनको विकल्प छैन’

blog

काठमाडौँ, जेठ २० गते । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि मुलुकको ध्यान प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतर्फ केन्द्रित भएको छ । सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरूले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्म गठबन्धनलाई अझ प्रभावकारी बनाउन जुट्नुभएको छ । 

स्थानीय तहको निर्वाचनमा भएको चुनावी तालमेल अभूतपूर्व सफल भएको निष्कर्षसहित प्रतिनिधि सभाको निर्वाचनमा अझ सशक्त रूपमा लाग्ने गरी पाँच दलका नेताहरूले आन्तरिक र पार्टीगत परामर्श सुरु गर्नुभएको हो । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको थियो । 

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय ‘वाम–लोकतान्त्रिक गठबन्धन’लाई अझ प्रभावकारी बनाएर आगामी निर्वाचनसम्म लैजाने प्रस्ट पार्नुभयो । बिहीबार सुर्खेत पुग्नुभएका अध्यक्ष नेपालले टेलिफोनमा गोरखापत्रसँग भन्नुभयो, “वाम–लोकतान्त्रिक गठबन्धनको विकल्प छैन ।” आगामी चुनाव मितिका सन्दर्भमा संवैधानिक व्यवस्थाअनुसार सरकारले निर्णय गर्ने उहाँले बताउनुभयो । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनको परिणामले पाँच दलको चुनावी गठबन्धनको औचित्य पुष्टि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँचै दललाई फाइदा भएको छ । सबैभन्दा बढी लोकतन्त्र र स्थायित्वका लागि गठबन्धन गर्दा फाइदा पुगेको छ ।” प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मितिबारे पाँच दलीय गठबन्धनमा औपचारिक रूपमा छलफल आरम्भ नभएको बताउँदै नेता पौडेलले संविधानको व्यवस्थाअनुसार निर्वाचन मिति तय हुने प्रस्ट पार्नुभयो । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आउने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनले निरन्तरता पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टीको चाहना पनि यही गठबन्धन सरकारले आगामी निर्वाचन गराउनुपर्छ भन्ने हो र मुलुकलाई एउटा नयाँ दिशा प्रदान गर्ने हो ।” गठबन्धनलाई अझै प्रभावकारी बनाउन पाँच दलका शीर्ष नेताहरू दृढ रहनुभएको उल्लेख गर्दै अध्यक्ष यादवले निर्वाचन एकै चरणमा सम्पन्न गर्न सम्भव रहेको र मितिका सन्दर्भमा संविधानको व्यवस्थाअनुसार सरकारले निर्णय गर्ने प्रस्ट पार्नुभयो । 

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले स्थानीय तह एकै चरणमा सम्पन्न भएकाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि एकै चरणमा सम्पन्न गर्न सम्भव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा जस्तो प्राविधिक कठिनाइ पनि हुँदैन । सहज रूपमा एकै चरणमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन गर्न सकिन्छ ।”

Author

अशोक अधिकारी