काठमाडौँ, चैत ७ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पक्षघातको उपचारमा प्रयोग हुने औषधी तीनवटा संघीय अस्पतालमार्फत उपलब्ध गराउने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक कार्यक्रम गर्दै पक्षघातको औषधी वीर, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमार्फत उपलब्ध गराइने जानकारी दिएको हो।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधी उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा।पवनजंग रायमाझीले जानकारी दिनुभयो।
पक्षघातको उपचारमा प्रयोग हुने औषधी निकै महँगो हुने गर्छ। मन्त्रालयका अनुसार उक्त औषधीको बजार मूल्य झण्डै दुई लाख पर्छ। तर, आर्थिक अभावमा महँगो औषधी खर्च गर्न नसकेका कारण नेपालमा मानिसको ज्यान जाने तथा अपांगताको समस्या देखिने गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गत माघ ३ गते निःशुल्क निर्णय अनुसार सो प्रक्रिया सुरु भएको हो।
मन्त्रालयमा आयोजित कार्यक्रममा सहयोगी संस्था डाइरेक्ट रिलिफका तर्फबाट प्राप्त औषधी वन हार्ट वल्र्डवाइडका प्रतिनिधिले मन्त्री पौडेलको उपस्थितिमा हस्तान्तरण गरिएको छ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधी सहयोग प्राप्त गरेर उपलब्ध गराइन लागिएको बताउनुभयो।
मन्त्री पौडेलले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधी उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने जानकारी दिनुभयो।
महँगो तथा पाउन समेत गाह्रो हुने पक्षघातको औषधीको प्राप्ति र सहज उपलब्ध गराउन मन्त्री पौडेलले लामो समयदेखि थालेको पहलस्वरुप अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ तयार भएको हो। मन्त्रालयसँग च्यारिटीले नेपालको मागका आधारमा पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले बताउनुभयो।