ललित बसेल
सुर्खेत, चैत ७ गते । कर्णाली प्रदेशमा भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा के कति छ भनेर परीक्षण गर्न सुर्खेतको हर्रे नाकामा प्रदेश सरकारले स्थापना गरेको विषादी प्रयोगशाला सञ्चालनमा नआई अलपत्र परेको छ । प्रदेश सरकारले आवश्यक बजेट र जनशक्तिको व्यवस्थापन नगर्दा प्रयोगशाला अलपत्र परेको हो ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–४, हर्रेमा करिब ७० लाखको लागतमा छ वर्षअगाडि कर्णाली प्रदेश सरकारले विषादी प्रयोगशाला निर्माण गरेको छ तर कर्मचारी र प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण खरिद गर्ने पर्याप्त बजेट नभएपछि भवन निर्माण भए पनि काम सञ्चालनमा आउन सकेको छैन ।
कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाका अनुसार भवन निर्माण भए पनि बजेट तथा जनशक्ति नहुँदा प्रयोगशाला सञ्चालन हुन नसकेको हो ।
प्रयोगशालाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले छ वर्षअघि प्रयोगशाला निर्माण गरिएको भए पनि आवश्यक उपकरण खरिद गर्न बजेट र जनशक्तिको खटनपटन नहुँदा भवन जीर्ण हुँदै गएको बताउनुभयो । कार्यालयले मन्त्रालयसँग बजेट र जनशक्ति व्यवस्थापनका लागि आग्रह गरिए पनि हालसम्म त्यसको व्यवस्थापन हुन नसकेको उहाँले बताउनुभयो ।
मन्त्रालयले हर्रे र सल्यान कपुरकोटको प्रयोगशाला सञ्चालनका लागि २९ लाख मात्रै बजेट विनियोजन गरेको छ । जबकि प्रयोगशाला सञ्चालनमा ल्याउन ६५ लाखको बजेट माग गरी मन्त्रालयमा पठाइएको उहाँले बताउनुभयो । प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण, सामग्री खरिद गर्न बजेट नै नपुग्ने भएकाले प्रयोगशाला सञ्चालनमा ल्याउन नसकिएको उहाँले जनाउनुभयो ।
कार्यालयले सुर्खेत र कपुरको प्रयोगशालाका लागि छ/छ जना कर्मचारी माग गरेको छ तर अहिलेसम्म उपलब्ध हुन सकेको छैन । प्रयोगशाला सञ्चालन नहुँदा बाहिरबाट आउने तरकारी तथा फलफूलमा के कति विषादी छ भन्ने मापन हुन सकेको छैन ।
एकीकृत प्रयोगशाला प्रमुख रोकायले बजेटको व्यवस्थापन हुनासाथ प्रयोगशाला सञ्चालनमा ल्याउन तयार रहेको जानकारी दिनुभयो ।
यता कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रयोगशाला सञ्चालनका लागि रकम कम भएकाले रकमान्तर गर्ने तयारीमा रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता कृषि प्रसार अधिकृत धनबहादुर कठायतले प्रयोगशाला सञ्चालनमा ल्याउनका लागि अपुग रकम रकमान्तर गर्ने तयारी भइरहेकाले जानकारी दिनुभयो ।