काठमाडौँ, चैत ६ गते । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक-प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुङ्गानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त गरेको उपलब्धि र सफलताले करिअरप्रति नीलमसँग अतिरिक्त अपेक्षा थिएन ।
तर नीलमको लेखोट भने अर्कै थियो । उहाँलाई त्यतिमै सीमित हुन छुट थिएन । एउटा यस्तो अवसर आयो, जसलाई पछ्याउँदै उहाँ आज नेपाल राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नरसम्म पुग्नुभएको छ । उहाँ अहिले मुलुकको अर्थतन्त्रको ढुकुटी सम्हालिरहनुभएको छ । अर्थतन्त्रका सूचकाङ्क केलाउँदै नीति नियम बनाउने र प्रभावकारी कार्यान्वयन गराउँदै अर्थतन्त्रलाई गतिशील बनाउने जिम्मेवारी बोक्नुभएको छ ।
विद्यालयदेखि नै मेधावी छात्रा ढुङ्गानालाई कक्षामा कहिल्यै पछाडि पर्नुपरेन । पढाइमा सधैँभरि अब्बल भइराख्न पारिवारिक वातावरण अनुकूल थियो । बुबा माध्यमिक विद्यालयको निरीक्षक र आमा शिक्षिका हुनुहुन्थ्यो । “घरायसी काम सघाउनेदेखि पढाइमा अब्बल भइराख्न परिवारबाट मिलेको साथ, सहयोग र प्रेरणा हो भन्ने लाग्छ”, केही दिनअघि बाँसबारी, हेपाली हाइटस्थित निवासमा कुराकानीका क्रममा डा ढुङ्गानाले सुनाउनुभयो ।
झापामा जन्मिएकी नीलमको बुबा सरकारी जागिरे भएकाले उहाँको जता सरूवा हुन्छ, त्यतै जाँदा विद्यालयको पढाइ पनि त्यतै सर्दै गयो । उहाँले एसएलसी भने २०४१ सालमा दमकस्थित हिमालयन माध्यमिक विद्यालयबाट पूरा गर्नुभयो । त्यसपछिको शिक्षामा ढुङ्गानाको रोजाइमा विज्ञान सङ्काय थियो । तर दमकमा विज्ञान पढाउने क्याम्पस आइसकेका थिएनन् । उहाँको रहर त्यहीँ छुट्यो । विकल्पमा कमर्श पढ्नुपर्ने भयो । आइकममा उहाँले जिल्लामा सर्वोत्कृष्ट अङ्क ल्याउनुभयो ।
दमकमा आइकम सकाएपछि ‘बिकम’ पढ्न विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा भर्ना हुनुभयो । स्नातक तहको पहिलो वर्ष पूरा भइसक्दा १९ वर्षको कलिलै उमेरमा विवाह भयो । विवाहपछि पनि पढाइ जारी नै रह्यो । केही समयपछि छोरी जन्मिइन् । त्यसपछि भने पढाइको गतिमा एक वर्ष बिराम लाग्यो । लगत्तै विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा एमबिए पढ्नुभयो । पढाइसँगै देवकोटा बोर्डिङ स्कुलमा अध्यापन सुरू भयो ।
स्नातकोत्तर तहमा उहाँ त्रिभुवन विश्वविद्यालयमा समग्रमा दोस्रो र महिलामा पहिलो हुनुभयो । कीर्तिपुरस्थित विश्वविद्यालय आएर तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहबाट ‘गोल्ड मेडल’सँगै सम्मान ग्रहण गर्नुभयो । फर्किएपछि स्नातकोत्तर क्याम्पसमै सहाप्रध्यापकको जागिर मिल्यो । पढाइ जस्तै जागिर मिलेपछि उहाँलाई अर्को ठाउँ जाउँ भन्ने सोच नै पलाएन । “परिवार, पढाइ र जागिर सबै भने जस्तै भएपछि अर्को ठाउँ जाने रहर कत्ति पनि थिएन, मैले जे उपलब्धि प्राप्त गरेकी थिए, त्यसैमा सन्तुष्ट थिएँ”, डा ढुङ्गानाले सुनाउनुभयो ।
सोही क्रममा नेपाल राष्ट्र बैंकले सहायक अधिकृत तहमा जागिर खुलायो । तर ढुङ्गानालाई भने यसबारे न चासो र जानकारी । “श्रीमान्का विद्यार्थी सुनील खनालले विज्ञापनको चिर्कटो लिएर आउनुभयो, हेर्नुहोस् यो विज्ञापन म्याडम, अब अध्यापनमा मात्रै सीमित भएर हुन्न भन्नुभयो”, डा नीलमले विगत सम्झनुभयो, “त्यो बेलामा उहाँले सके राष्ट्र बैंकमा नभए निजामती जागिर भए पनि खानुपर्छ भन्दै हौसाउनुभएको थियो, आवेदनको फाराम पनि उहाँकै कारणले भरेकी थिएँ ।”
फाराम भरेपछि त तयारी पनि गर्नुप¥यो । केन्द्रीय बैंकको विराटनगरको कार्यालयबाट केही प्रकाशनहरू ल्याउनुभयो । केही पत्रपत्रिका र केही पुस्तकको सहयोगमा तयारी पनि भयो । परीक्षा दिन रात्रिकालीन बस बढेर काठमाडौँ हानिनुभयो । एकान्तकुनामा आफन्तकहाँ विश्राम लिएपछि बालुवाटारस्थित केन्द्रीय बैंक आउँदा बाहिरपट्टिको रूखमा टाँसिएको सूचनामा भनिएको थियो, “राजनीतिक परिवर्तनका कारण अहिलेका लागि सहायक अधिकृतको परीक्षा स्थगित भएको छ ।”
लामो समयदेखिको तयारी, विराटनगर–काठमाडौँको कष्टपूर्ण यात्रापछि जाँच स्थगितको सूचना ढुङ्गानाका लागि अपेक्षाभन्दा पर थियो । एकप्रकारले मनमा निराशा छायो । यति ठूलो मेहनत खेर गयो भन्ने भयो । मन बुझाउनै गाह्रो भयो । तर स्वीकार गर्नुबाहेक के नै गर्न सकिन्थ्यो र ? निराश मन लिएर बालुवाटारबाट गाडी चढेर रत्नपार्क पुग्दा सडक पेटीमा किताब बिक्रीका लागि राखिएको रहेछ । “बाटोमा किताब फिँजाएर बिक्री गरेको मलाई नौलो लाग्यो, विराटनगरमा त्यस्तो कहिल्यै देखिएन, एकान्तकुनाको गाडी चढ्नुअघि किताब नियाल्दै थिए, यत्तिकैमा ‘नेपाल राष्ट्र बैंक प्रतियोगिता गाइड’ देखेपछि नकिनी मनले मानेन् ।”
विराटनगर पुगेपछि किताब पढ्दा उहाँलाई लाग्यो, सायद तयारी अझै पुगेको रहेनछ । उहाँले पढ्न छुटाएका कैयौँ कुराहरू पुस्तकमा थिए । त्यही पुस्तक उहाँका लागि राष्ट्र बैंक प्रवेश गर्ने माध्यम बन्यो लाग्छ उहाँलाई । विसं २०५४ असारमा जाँच भयो । दसैँ सुरू हुनुभन्दा अगाडि प्रकाशित नतिजामा उत्तीर्ण हुनेमा नीलम ढुंगानाको नाम पनि थियो । “अहिले लाग्छ, सुरूमा परीक्षा स्थगित हुनु र त्यो पुस्तक संयोगले भेटिनु सायद मेरै लागि अवसर थियो, सायद पहिले तयारी पुगेको थिएन”, उहाँले भन्नुभयो ।
नतिजा प्रकाशित भयो, तर थाहै छैन । दसैँमा विराटनगरबाट झापा जाँदै गर्दा बस स्ट्यान्डमा भेटिनुभएका एक आफन्तका मुखबाट नतिजा आएको पाँच दिनपछि खबर सुन्नुभएको रहेछ । “उहाँले तपाईंको नाम गोरखापत्रमा निस्केको छ, बधाई छ, लड्डु कहिले खुवाउने भनेपछि पो थाहा भयो, दसैँमा घर हिँडेको मान्छे नतिजा हेर्न जाऔँ कि कता जाऔँ भन्ने द्विविधा भयो”, उहाँले भन्नुभयो, “अन्तर्वार्ता कहिले हुने हो, छुट्ने पो हो कि भन्ने चिन्ता भयो । तापनि दसैँ जस्तो महान् चाडका बेलामा त पक्कै हुँदैन होला, भनी झापा नै लागियो ।”
उहाँको मनमा दसैँभरि त्यही नतिजा घुमिरह्यो । दसैँलगत्तै विराटनगर फर्किएर क्याम्पसको पुस्तकालय खोल्न अनुरोध गरेर पुरानो गोरखापत्रमा हेर्दा नाम भेट्टिँदा निकै खुसी लाग्यो उहाँलाई । नाम निस्केको सो गोरखापत्रकोे कटिङ अझै सुरक्षित छ, भन्नुहुन्छ उहाँ । २०५४ सालको भाइटीकाको पर्सीपल्ट अन्तर्वार्ताको मिति तोकियो, त्यसमा पनि पास हुनुभयो । नियुक्तिपत्र लिन काठमाडौँ आउनुभएकी उहाँलाई यतै बस्नुपर्ने भयो । उहाँलाई केन्द्रीय कार्यालयमै विदेशी विनिमय व्यवस्थापन विभागमा खटाइएको रहेछ ।
त्यसपछिको एक वर्ष काठमाडौँमा बिताएपछि नीलमको विराटनगर नै सरूवा भयो । त्यहाँ तीन वर्ष बिताएपछि पुनःकाठमाडौँ फर्कनुभयो । त्यसयता उहाँ राष्ट्र बैंकमा विभिन्न विभागमा रहेर काम गर्दै आफूलाई अब्बल सावित गर्दै आउनुभएको छ । बैंकबाटै अष्ट्रेलिया पुगेर वलोङगङ्ग विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पूरा गर्नुभयो । केही वर्षपछि उहाँले भारतबाट ‘मौद्रिक प्रसारण संयन्त्र र बैंक लेण्डिङ्ग विहेवियर’मा विद्यावारिधि पनि पूरा गर्नुभयो ।
“केन्द्रीय बैंकमा रहँदा मैले धेरै अवसरहरू प्राप्त गरेँ । प्रत्येक आन्तरिक प्रतियोगितात्मक परीक्षा पहिलो प्रयासमै उत्तीर्ण हुँदै निर्देशक तहसम्म बढुवा भएँ । काम गर्दाका अवस्थामा विभिन्न प्रकारका चुनौती र असफलताहरू आउनु स्वाभाविक जस्तो लाग्छ । चुनौती र असफलताले धैर्यता र पाठ सिकाउँछ । कार्यकारी निर्देशकमा भने कार्यसम्पादन मूल्याङ्कनका आधारमा पदोन्नति भयो, नियम नै यही हो”, उहाँले भन्नुभयो ।
ढङ्गानाले केन्द्रीय बैंकमा रहँदा विदेशी विनिमय व्यवस्थापन विभाग, विराटनगर क्षेत्रीय कार्यालय, बैंक सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, आन्तरिक लेखा परीक्षण विभाग तथा मौद्रिक व्यवस्थापन विभागमा कार्य अनुभव हासिल गर्नुभएको छ । आफ्नो कार्यकालको सबैभन्दा लामो समय करिब ११ वर्ष आर्थिक अनुसन्धान विभागमा बिताउनुभयो । उहाँले पोखरा क्षेत्रीय कार्यालयमा क्षेत्रीय निर्देशकका रूपमा सफलतापूर्वक १४ महिना काम गर्नुभयो । मौद्रिक व्यवस्थापन विभागमा काम गर्दागर्दै नेपाल सरकारबाट उहाँलाई वरिष्ठ डेपुटी गभर्नरको रूपमा नियुक्ति प्राप्त भयो ।
अर्थतन्त्रको अवस्था
अर्थतन्त्रलाई नजिकैबाट नियालिरहेकी डा ढुङ्गानाका शब्दमा अहिले अर्थतन्त्रका अधिकांश सूचकाङ्क सकारात्मक छन् । यद्यपि सुधार गर्नुपर्ने कैयौँ पक्ष पनि नभएका होइनन् । “चालू आर्थिक वर्षको सात महिनामा मुद्रास्फीति ४ दशमलव १६ प्रतिशत (वाञ्छित सीमाभित्रै) छ, बाह्य क्षेत्र सहज अवस्थामा छ । २३६९ अर्ब विदेशी मुद्रा सञ्चिति छ, चालु खाता बचतमा छ, गत वर्षको तुलनामा वैदेशिक लगानी, ऋण र अनुदान पनि बढेको छ । विप्रेषणमा ७ दशमलव ३ प्रतिशतले वृद्धि भई ९०० अर्ब पुगेको छ”, उहाँले भन्नुभयो ।
सरकारी वित्तका क्षेत्रमा अपेक्षित रूपमा पुँजीगत खर्च र राजस्व परिचालन हुन नसके पनि गत वर्षको तुलनामा वृद्धिदर उल्लेख्य छ । गत वर्ष सरकारी खर्च २ दशमलव ९ प्रतिशतले बढेकामा यस वर्ष ९ दशमलव ९ प्रतिशतले बढेको छ । त्यस्तै राजस्व परिचालन गत वर्ष यो अवधिमा १० दशमलव २ प्रतिशतले बढेकामा यो वर्ष १३ दशमलव ३ प्रतिशतले बढेको छ । अर्थतन्त्रमा आशा गर्ने धेरै क्षेत्रहरू छन् । लगानीको प्रशस्त अवसर छन् । बैंकिङ क्षेत्रको ब्याजदर न्यून विन्दुमा झरेको र तरलता प्रशस्त रहेको अहिलेको अवस्थालाई सार्वजनिक र निजी लगानीका लागि सुनौलो अवसरका रूपमा लिन सकिने उहाँको बुझाइ छ ।
“अधिकांश सूचकाङ्कहरू राम्रा हुँदाहुँदै पनि बैंकमा अधिक तरलता छ, अपेक्षाकृत रूपमा कर्जा प्रवाह हुन सकेको छैन, वााणिज्य बैंकले दिने कर्जाको ब्याजदर गत वर्ष औसत ११ दशमलव ०८ बाट अहिले ८ दशमलव ५५ प्रतिशतमा झरेको छ, आधारदर पनि औसत ९ दशमलव ०६ प्रतिशतबाट ६ दशमलव ४६ प्रतिशतमा आइसकेको छ, तर कर्जा प्रवाह अपेक्षाकृत रूपमा बढ्न सकेको छैन”, उहाँले भन्नुभयो, “यसमा कहीँ न कहीँ, केही कमी कमजोरीहरू त पक्कै हुन सक्छन्, मूलतः कूल मागमा नै समस्या देखिएको छ ।”
डेपुटी गभर्नर डा ढुङ्गाना अहिले अर्थतन्त्रमा देखिएको समस्या कोरोना महामारीदेखि नै सुरू भएको हो भन्नुहुन्छ । तत्कालीन समयमा अर्थतन्त्र पुनरूत्थानका लागि चालिएका केही लचकपूर्ण कदमका धेरै सकारात्मक प्रभावका साथै केही नकारात्मक प्रभाव पनि परेका छन् । केन्द्रीय बैंकले दिएको स्टिमुलस प्याकेज, ऋणको पुनःसंरचना, पुनःकर्जालगायतका नीतिले ८५ प्रतिशत उद्योग व्यवसाय पुनःसञ्चालनमा आए पनि कतिपय कर्जाको उत्पादनशील क्षेत्रमा सदुपयोग हुननसक्दा केही समस्या भएको उहाँको बुझाइ छ । त्यसैको असर अहिले बैंकको रिकभरिमा देखिएको छ, यसले खराब ऋण बढाएको छ । त्यसबाहेक यसबिचमा भएका ऋण तिर्नुनपर्ने भन्दै अभियानकै रूपमा सृजित गरिएका गैरआर्थिक गतिविधि पनि कारक हुन् भन्ने उहाँको बुझाइ छ ।
ठूलो सङ्ख्यामा युवाहरू विदेश जाँदा आन्तरिक माग घटेको हो भन्नुहुन्छ उहाँ । उपभोग गर्नेहरू नै विदेश गएपछि माग स्वतः कमजोर हुन्छ । यसको असर निजी क्षेत्रको उत्पादन र अन्ततोगत्वा बैंकको कर्जा प्रवाहमा देखिन्छ । माग नै छैन भने उत्पादनका लागि कर्जा प्रवाह कमजोर हुनु स्वाभाविक हो । तर अहिले व्याजदरहरू माथि भनिए झैँ न्यून विन्दुमा झर्नु र बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहनुलाई सार्वजनिक र निजी लगानीका लागि सुनौलो अवसरका रूपमा सदुपयोग गर्ने बेला हो । गत वर्षभन्दा कर्जाको वृद्धिदर बढीरहेको अवस्थालाई पनि यस अर्थमा हेर्न सकिन्छ ।
केन्द्रीय बैंकको भूमिका
केन्द्रीय बैंकको मुख्य भूमिका समष्टिगत आर्थिक स्थायित्वलाई ध्यानमा राख्दै आर्थिक विकासका लागि सहजीकरण गर्ने हो । कर्जा र ब्याजदरका माध्यमबाट अर्थतन्त्रलाई चलायमान बनाउने हो । त्यसबाहेक नीतिगत तवरबाट पनि काम गर्न सकिन्छ । अहिले पनि साना तथा मझौला क्षेत्र, कृषि र ऊर्जा क्षेत्रमा ४० प्रतिशत कर्जा हुनु केन्द्रीय बैंककै कारण सम्भव भएको हो ।
पछिल्लो समय नेपाल ग्रे लिस्टमा परेको र यसबाट निकाल्नका लागि पनि केन्द्रीय बैंकले सक्दो भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ छ । डा ढुङ्गाना भन्नुहुन्छ, “फाइनान्सिल इन्टेलिजेन्स युनिट केन्द्रीय बैंकअन्तर्गत नै छ, वित्तीय क्षेत्रमा हुनसक्ने शङ्कास्पद कारोबार, सम्पत्ति शुद्धीकरणका क्षेत्रमा सूक्ष्म निगरानी भइरहेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय त बैंकवित्तीय संस्थाहरूको एएमएल सिएफटीसम्बन्धी गहन रूपमा सुपरिवेक्षण गर्न छुट्टै एएमएल सीएफटी सुपरिवेक्षण महाशाखा नै नेपाल राष्ट्र बैंकमा बनाइएको छ ।”
त्यसबाहेक तल्लो तहसम्म एएमएल/सिएफटीसम्बन्धी जनचेतना अभियानकै रूपमा चलाउनुपर्ने खाँचो रहेको उहाँको बुझाइ छ । रेडियो टेलिभिजनमार्फत वा विभिन्न तालिमका साथै यसलाई पाठ्यक्रममै राख्न पनि सकिन्छ । केन्द्रीय बैंकले कडाइ गरेकै कारण सम्पत्ति शुद्धीकरणमा धेरै सुधार आएको छ । अन्तरराष्ट्रिय जगतले अझै बढी ‘कम्प्लाइन्स’ खोजेको अवस्था छ । सबै क्षेत्रमा एफएटीएफले ‘कम्प्लाइन्स’ खोज्दा र अपेक्षित ‘कम्प्लाइन्स’ नदेखिएकोले ‘ग्रे लिष्ट’मा परेको उहाँको बुझाइ छ ।
गभर्नरको दाबेदार
वरिष्ठ डेपुटी गभर्नर डा नीलम ढुङ्गानाका अगाडि नेपालको पहिलो पटक महिला गभर्नर बन्ने सम्भावनाले पछ्याइरहेको छ । त्यो सम्भावना वरिष्ठ डेपुटी गभर्नरका रूपमा स्वतः उहाँलाई प्राप्त भएको हो । यतिबेला गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति पनि गठन भइसकेको भन्ने सुन्नमा आएको छ । नेपाल राष्ट्र बैंकको ऐनमै गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा डेपुटी गभर्नर पनि हुनुपर्ने भनिएको छ । त्यसो हुनाले उहाँ भावी गभर्नरको स्वतः प्रबल दाबेदार हुनुहुन्छ ।
“म राष्ट्र बैंक प्रवेश गर्दा यति ठूलो सपना थिएन, यस गरिमामय संस्थामार्फत मुलुकको सेवा गर्न पाउनुका साथै मेरो जीविकोपार्जनसँग पनि जोडिएको थियो”, उहाँले भन्नुभयो, “करिब तीन दशकको यस यात्रामा मैले बैंकमा गरेको मेहनत, योगदान र अहिले वरिष्ठ डेपुटी गभर्नरका रूपमा र धेरै पटक कायममुकायम गभर्नरका रूपमा सफलतापूर्वक र सक्रियतापूर्वक निर्वाह गरेका जिम्मेवारीहरूलाई नियाल्ने हो भने गभर्नरका रूपमा काम गर्न सक्छु भन्ने पुष्टि हुन्छ ।” रासस