• ६ चैत २०८१, बुधबार

मकवानपुर बहुमुखी क्याम्पसमा अखिलका रेग्मी नेतृत्वको टिम विजयी

blog

मकवानपुर क्याम्पसका निर्वाचित स्ववियु सभापतिलगायत ।

राममणि दाहाल

हेटौँडा, चैत ६ गते। मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वको लागि मंगलबार भएको निर्वाचनमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित हुनुभएको छ। बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७०६ मतसहित रेग्मी अध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँका निकटतम् प्रतिस्पर्धी अखिल क्रान्तिकारीका छोइसाङ लामाले ५०७ मत प्राप्त गर्नुभयो। लामा यसअघि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति रहनुभएको थियो। 

स्ववियु सचिवमा नेपाल विद्यार्थी संघका उत्सव ढुंगाना र कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइटेल निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सन्देश बिडारीले जानकारी दिनुभयो।  स्ववियु सदस्यमा मनोज घलान, दिवस चौलागाईं, उमेश चौधरी, साजिर अन्सारी, कृषन थिङ, मन्दीप थापा, अतीत अधिकारी र विवश अर्याल निर्वाचित हुनुभएको छ। 

यस्तै स्थित वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसमा स्ववियु सभापतिमा नेविसंघका श्यामराज भट्ट निर्वाचित हुनुभएको छ। उहाँका निकतट्म प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी) का छत्र शाहीले ११८ मत प्राप्त गर्नुभयो।  सचिवमा अनेरास्ववियुका सुगम भुसाल क्षेत्री र कोषाध्यक्षमा नेविसंघकी पूर्णिमा पन्त तथा सदस्यमा युनिशा धामी, रोहन केसी, विनय तिमल्सिना, किरणकुमार रावल र जष्टिना श्रेष्ठ विजयी हुनुभएको छ।

दुई क्याम्पसमा सर्वसम्मत् नेतृत्व 

यसैगरी यसअघि मकवानपुर जिल्लामा दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सर्वसम्मत् नेतृत्व चयन भएको थियो। त्रिभुवन विश्वविद्यालयका जिल्लामा रहेका आंगिक र सम्बन्धन प्राप्त गरी सात वटा क्याम्पसमा निर्वाचन हुने तालिका रहेककोमा दुई वटा क्याम्पसमा नेतृत्व सर्वसम्मत् चयनभएको हो।

 मकवानपुरका मनहरी गाउँपालिकास्थित मनहरी क्याम्पस र  हेटौँडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसमा नेतृत्व सर्वसम्मत् रुपमा चयन भएको ती क्याम्पसको निर्वाचन समितिले जनाएका छन्। वंशगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका दिवस सिलवाल सभापतिमा सर्वसम्मत् चयन हुनुभएको हो। 

क्याम्पस प्रमुख लक्ष्मण कँडेलका अनुसार ११ सदस्यीय समितिमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका सजना घिमिरे उपसभापति, अखिल क्रान्तिकारीका आशाराम गोले कोषाध्यक्ष र नेविसंघका आशिष भोलन निर्विरोध निर्वाचित हुनुभएको छ।

यस्तै मनहरी क्याम्पसमा सभापतिमा अनेरास्ववियुका कुमार घिसिङ, सचिवमा नेविसंघका अविक दाहाल, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका पासाङ मुक्तान निर्विरोध निर्वाचित हुनुभएको छ। सात सदस्यीय समितिमा चार वटा विद्यार्थी संगठनले  सहमतिमा नेतृत्व चयन गरेका हुन्। समिति सदस्यमा नेविसंघका विष्णु कामी, अखिल क्रान्तिकारीका गुणराज स्याङ्ग्बो र अनेरास्ववियुका शितल लामा चयन हुनुभएको निर्वाचन समितिका संयोजक जयराम अर्यालले जानकारी दिनुभयो।

पालुङ बहुमुखी क्याम्पस क्याम्पसमा विवादका कारण निर्वाचन रोकिएको छ।