• २४ वैशाख २०८१, सोमबार

प्रदेशलाई समृद्ध बनाउने कार्यक्रम र बजेट ल्याउँछौँ : मुख्यमन्त्री राउत

blog

जनकपुर, जेठ १९ गते । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनुभएको छ ।

बिहीबारदेखि सुरु भएको मधेस प्रदेशसभाको नवौँ अधिवेशनमा उहाँले चार वर्षको अनुभवलाई प्रयोग गरेर प्रदेशलाई समृद्ध बनाउने ठोस योजनासहितको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइने बताउनुभयो ।

मुख्यमन्त्री राउतले भन्नुभयो, “यो अधिवेशन प्रदेशसभाको अन्तिम अधिवेशन, यो सरकारको पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अन्तिम नै हो, त्यसैले हामी नीति तथा कार्यक्रममा सबै पक्षको भावनालाई समेट्ने छौँ, प्रदेशका जनताको चाहना र समयसापेक्षअनुसारको नीति तथा कार्यक्रम र बजेट ल्याउनेछौँ ।”

ऐन, कानुन निर्माण, प्रदेशको नामकरण र राजधानी टुङ्गो लगाउन सबै दलका प्रदेशसभा सदस्यले सहयोग गरेकाले धन्यवाद ज्ञापन गर्दै उहाँले प्रदेश सरकारबाट प्रदेशसभामा प्रस्तुत हुने आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई आवश्यक सुझाव, सल्लाहसहित पारित गर्न आग्रह गर्नुभयो ।

प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले मधेशी जनताको जीवनमा आमूल परिवर्तन हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन आग्रह गर्दै सबै दलसँग सल्लाह गरेर नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिनुभयो ।

उहाँले प्रदेश सरकारले यही जेठ २२ गते ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा आफूहरूसँग कुनै सरसल्लाह नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै एकलौटी ढङ्गबाट नीति तथा कार्यक्रम ल्याइए विरोध जनाउने बताउनुभयो ।

मधेस प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल अघि बढाउन आग्रह गर्दै उहाँले प्रदेश सरकारले विशेष सङ्कल्प प्रस्ताव ल्याएर भए पनि विमानस्थल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा उद्योग, वन तथा पर्यटनमन्त्री शत्रुधन महतो, प्रदेशसभा सदस्य सत्यनारायण मण्डल, शिवचन्द्र चौधरी, दिलीप साहलगायतले जनतालाई राहत र नयाँ सकारात्मक सन्देश दिने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताउनुभयो ।

जारी बैठकमा प्रदेशसभाका सदस्यहरूले आ–आफ्ना धारणा राखिरहनुभएको छ । बैठकको शुभारम्भमै सभामुख सरोजकुमार यादवले नवौँ अधिवेशन आह्वानसम्बन्धी पत्र बाचन गरेर सुनाउनुभएको थियो ।