सन्तोष सुवेदी
कास्की, चैत ६ गते । पोखरा महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्नका लागि ‘कोसेली घर’ निर्माण सुरु गरेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत कोसेली घरको शिलान्यास गरिएको हो ।
हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयु उद्यमलाई बढवा दिन दिगो नीतिको सुनिश्चिततासहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिने छ । दुई वर्षअघि नगरप्रमुख आचार्य र कोइकाका उपप्रमुख युनयङ्ग लीबिच सम्झौता भएको थियो । परियोजनामा कोइकाले करिब एक करोड अमेरिकी डलर र युएनडिपीले करिब १० लाख अमेरिकी डलर लगानी गर्ने छन् । अठार महिनामा निर्माण सम्पन्न गर्ने गरी कोसेली घर निर्माणको ठेक्का इन्टरनेसनल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाडौँले पाएको छ । परियोजनाले नकुहिने फोहोर प्रशोधनसहित फोहोरबाट नयाँ चिजवस्तु उत्पादन गर्ने छ । यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।
हरित रोजगारी सिर्जनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले महìवपूर्ण योगदान गर्ने पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताउनुभयो । फोहोरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेका बेला यसलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहमार्फत पुनः प्रयोगमा आउने सामग्री निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरणसमेत हुने उहाँको विश्वास छ ।
“विभिन्न चरणमा हामीले पोखरा महानगरपालिकाका १३६ वटा सामुदायिक समूह निर्माण गरी आवश्यक तालिम तथा प्राविधिक दक्षता अभिवृद्धिको कार्यक्रम गरिसकेका छौँ । यसले सामुदायिक स्तरमा रोजगारी सिर्जना र चक्रीय आर्थिक प्रणालीमा जोडिने अवसरसमेत प्रदान गर्ने छ,” उहाँले भन्नुभयो । विदेश पलायन भइरहेको युवाशक्ति र गृहिणी महिलाका लागिसमेत हरित रोजगारी सिर्जना महìवपूर्ण रहेको उहाँले बताउनुभयो । परियोजनाको पहिलो चरणमा तीन हजारभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना हुने उहाँले बताउनुभयो ।
कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङले पोखरा महानगरपालिका र कोइकाबिचको सहकार्य तथा समझदारीलाई बलियो बनाउँदै यस परियोजनाले नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको पर्यटन राजधानी पोखरामा रिसाइकल र अपसाइकलमार्फत हरित रोजगारी सिर्जनाको नमुनाका रूपमा विकास गर्न यो परियोजना कोसेढुङ्गा साबित हुने कोङले उल्लेख गर्नुभयो । ग्रिन जब क्रियसन संसारमा निकै प्रभावकारी परियोजनाका रूपमा अगाडि आएको उहाँले बताउनुभयो । युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो रिसाइकल र अपसाइकल (आरयु) उद्यमलाई बढवा दिन यो परियोजना प्रभावकारी हुने बताउनुभयो । उहाँका अनुसार यसले आरयु उद्यमको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्ने छ ।