ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), चैत ६ गते । मगर समुदायको परम्परागत पुख्र्यौली नाचको संरक्षण गर्न पाका पुस्ताले युवालाई सिकाउन थालेका छन् । म्याग्दीको मालिका गाउँपालिका–५, जुग्जाका मगर समुदायले पुख्र्यौली नाच अन्तर्गत सोरठी भाका र मारुनी नाच संरक्षण र पुस्तान्तरण गर्न पुख्र्यौली नाच समूह गठन गरिएको छ ।
मगर समुदायमा सोरठी भाकामा नाचिने मादले–मारुनी नाच लोकप्रिय छ । हाम्रो मौलिक कलासंस्कृतिका रूपमा रहेको मारुनी नाच युवालाई सिकाउन समूह गठन गरी तालिम र प्रशिक्षण दिने गरिएको पुख्र्यौली नाच समूह जुग्जाका अध्यक्ष पतिराम शेरपुञ्जाले बताउनुभयो । समूहमा पाका र युवा गरी २८ जना आबद्ध छन् । पहिचानका रूपमा रहेको मौलिक कलासंस्कृति लोप हुन नदिन आफूले युवापुस्तालाई सिकाउन थालेको ७४ वर्षीय शेरपुञ्जाले बताउनुभयो । युवाले पनि चासो दिएर सिक्दै गरेको उहाँको भनाइ छ ।
गाउँघरमा बुढापाकासँगै युवालाई राखेर मारुनी नाच देखाउन थालिएको उहाँले बताउनुभयो । आफ्नो संस्कृति संरक्षण गर्नु पर्छ भनेर दुई वर्षदेखि मारुनी नाच सिक्दै आएको ३२ वर्षीय रविन फगामीले बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाको भेषमा सिँगारिएर मारुनी नाच्ने गरेको छु । सुरु सुरुमा अलि कठिन भयो, अहिले राम्रोसँग नाच्ने भएको छु । पुर्खाले संरक्षण गरेर राखेको संस्कृति हामी युवाले पनि संरक्षण गर्नु पर्छ भनेर समूहमा आबद्ध भएर गाउँका युवाहरूले पनि सिक्न थालेका छन् ।”
मगर समुदायमा जन्म, मृत्यु, विवाह, छेवार र गाउँमा हुने विशेष सभा समारोहमा परिवेश अनुसार पुख्र्यौली नाच देखाउने चलन रहेको छ । लामो भाका र स्वर निकालेर गाइने गीतको भावमा डुबेर भाङ्ग्रा, कछाड, टोपीको पहिरनमा मादल भिरेर नाचेको दृश्य निकै रोचक हुन्छ । मादल बजाउँदै नाच्नेलाई मादले र महिलाको परिहन लगाएर नाच्नेलाई मारुनी वा सिङ्गारु भनिन्छ । मादलेसँगै जोडी भएर महिलाको भेषमा नाच्ने पुरुषहरूले पुख्र्यौली नाचमा रौनकता थपिन्छ । पुख्र्यौली नाचमा सोरठी भाकामा गीत गाउने महिलाको एक समूह हुन्छ ।