• ४ चैत २०८१, सोमबार

ज्वेलर्स पसलमा चोरी भएपछि व्यापारी आन्दोलित

blog

बलवा नगरपालिका–३ पडौल बजारका स्थानीय व्यापारीहरू आन्दोलन गर्दै । तस्बिरः अजय साह

अजय साह

गौशला (महोत्तरी), चैत ४ गते । महोत्तरीको पडौलस्थान बजारमा स्थानीयहरूले प्रदर्शन गर्दै सोमबार बजार बन्द गराएका छन् । बलवा नगरपालिका–३ पडौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको चोरी भएको घटनालाई लिएर व्यापारीहरू सडकमा टायर बालेर प्रदर्शन गर्दै बजार बन्द गराएका हुन् ।  

शनिबार राति चोरहरूको समूहले पसलमा लुटपाट गरी बर्दिबासतर्फ भागेको सिसी टीभी फुटेजमा देखिएको बताइए पनि चोर समात्ने प्रयास सुरक्षाकर्मीले नगरेको भन्दै व्यापारीहरू बजार बन्द गराएका छन् । 

शिवशान्ति ज्वेलर्सका सञ्चालक अरुणकुमार साहका अनुसार ५ जनाको समूहमा आएका डाँकाहरूले पसलमा रहेको २० तोला सुन, १ लाख ५० हजार नगद, पसलमा राखिएको भोल्ट (लकर), क्यामराको  हार्डडिस्क चोरी गरेर लगेको छ ।

सुन पसलमा लागेको सिसी टिभी क्यामराको हार्डडिस्क चोरहरूले लगेपछि नजिकै रहेको अन्य क्यामरा लुटपाट गर्न प्रयोग भएको जिप र डकैतीमा संलग्नहको भिडियो कैद भएको प्रहरीको भनाइ छ । पसलमा राति नै चोरी भए पनि आइतबार बिहान ९ बजे मात्र थाहा भएको सञ्चालक साहले बताउनुभयो ।