• २६ वैशाख २०८१, बुधबार

प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुन्छः नेपाल

blog

सुर्खेतमा अयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल । तस्विर – नविन शाही

 नविन शाही  

सुर्खेत, जेठ १९ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तागठबन्धन दलहरुबीच प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने बताउनुभएको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधीलाई बधाई ज्ञापन गर्न सुर्खेत आउनुभएका नेता नेपालले पत्रकार सम्मलेनमा बोल्दै दलहरुबीच चुनावी समीक्षाबाट आत्मालोचना भएकाले आगामी निर्वाचनमा पनि तालमेल हुने बताउनुभएको हो । 

‘अहिलेको गठबन्धनबीच सम्बन्ध रहिरहन्छ । यस बाहेकको गठबन्धन हुने विकल्प छैन ।’ अध्यक्ष नेपालले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच कहिँकतै असहयोग भए तर सम्बद्ध दलहरुले आत्मालोचना गर्नुभएको छ । त्यसैले पनि प्रदेश र संघको निर्वाचनमा तालमेल कायम रहन्छ ।’

अध्यक्ष नेपालले गठबन्धन सरकारले जनभावनाअनुसारको नीति कार्यक्रम र बजेट ल्याएको बताउनुभयो । ‘संसद बन्द गरी बजेट ल्याएको भए चुनावी बजेट भन्न सकिन्थ्यो । यो चुनावी बजेट होइन । चुनावको बेला परेको बजेट हो ।’ अध्यक्ष नेपालले भन्नुभयो, ‘गठबन्धन सरकारले उठाएका कुरामा हामी उत्साहित छौं । सरकारले जनभावनालाई अधिकतम समेटेर नीति कार्यक्रम बजेट ल्याएको छ ।’

स्थानीय तह निर्वाचनमा नेकपा एकिकृत समाजवादी पार्टीले गर्व गर्न लायक सफलता प्राप्त गरेको बताउनुभयो । ‘कतिपय स्थानमा योग्य, सक्षम, अनुभवी र लोकप्रिय व्यक्ति उम्मेदवार विजय भएकाले गर्व गर्न लायक सफलता प्राप्त भएको निष्कर्ष निकालेका छौं’ अध्यक्ष नेपालले भन्नुभयो, ‘निर्वाचित जनप्रतिनिधीले आफ्नो योग्यता र प्रभावकारिता देखाउँदै आफ्नो पालिकालाई नमूना पालिका बनाउन पार्टीले उहाँहरुलाई प्रशिक्षित र उत्प्रेरित बनाउने छ ।’

स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह अस्पष्ट हुँदा मत बदर भएकाले आफ्नो पार्टीले धेरै सीट गुमाउनु परेको अध्यक्ष नेपालले बताउनुभयो ।