काठमाडौँ, चैत ३ गते। प्राध्यापक डा. युवराज सङ्ग्रौलाले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न माग गर्नुभएको छ। आइतबार काठमाडौँ स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले आफूलाई लागेको यौन दुर्व्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको बताउनुभयो। उहाँले कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्तरूपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले साँच्चिकै पीडित हो भने सामाजिक सञ्जालमा लेख्नुभन्दा अनुसन्धान गर्ने राज्यको निकायमा जानुपर्ने बताउनुभयो। कसैले सञ्जालमा लेखेको विषयलाई मिडियाले ट्रायल गर्ने हो भने राम्रा मान्छे पीडित हुने उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, ‘मेरो ३७ वर्षको इन्टिग्रेटीमा राज्यको कुनै अनुसन्धान निकायले त्यस्तो सूचना प्राप्त गर्छ र अनुसन्धान गर्छ भने मलाई हत्कडी लगाएर लैजान सक्छ। तर कुनै एउटा व्यक्तिले सामाजिक सञ्जालमा आफू कुन अवस्थामा छ भन्ने पनि राम्रोसँग नबुझी सामाजिक सञ्जालमा आएर गाली गर्छ, बोल्छ, म तलाई मार्छु, तेरो छोरी मार्छु भन्छ र उ आफै के भन्छ भने म पीडित होइन अरूको पीडाको लागि बोलेको छु। यो देशमा खुला र स्वतन्त्र न्यायपालिका छ, अनुसन्धान गर्ने प्रहरी प्रशासन छ जसमाथि मेरो विश्वास छ। एउटा अमुक व्यक्तिले समाजिक सञ्जालमा राखेको कुरालाई स्रोत मानेर यदि देशमा बहस हुन थाल्यो भने सञ्चारका साधनमा बहस हुन थाल्यो भने र मिडिया ट्रायल हुन थाल्यो भने युवराज सङ्ग्रौला मात्रै समाप्त हुँदैन।’
प्रा.डा. युवराज सङ्ग्रौलामाथि लगाएको यौन दुर्व्यवहारको आरोपको अनुसन्धान गर्न काठमाडौँ स्कुल अफ लको व्यवस्थापनले डा. श्रीकृष्ण भट्टराईको संयोजनमा पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामीसहितको जाँचबुझ समिति गठन गरेको छ।