सिड्नी (अस्ट्रेलिया), चैत ३ गते । एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा शनिबार ग्रानभिल पार्कमा आयोजना गरेको होली कार्यक्रममा नेपालीहरुले रङ्गको पर्व मनाउँदै शुभकामना आदान प्रदान गरे ।
ह्वाइट स्पट ग्रुपको प्रस्तुति रहेको सो होली मेलामा अस्ट्रेलियाका चर्चित नेपाली कलाकारहरुको प्रस्तुतिसहित नेपाली खाना र तराई, मधेश झल्किने विशेष प्रस्तुति समेटिएको थियो ।
स्थानीय ग्रानभिल क्षेत्रकी सांसद जुलिया फिनले औपचारिक रुपमा होली पर्वको शुभारम्भ गर्दै बहुसांस्कृतिक समाजको सुन्दरता भनेको सबै धर्म, जात र कला संस्कृतिको सम्मान गर्नु रहेको बताउनु भयो । । यसमाथि पनि रंगको पर्वको रुपमा मनाइने होलीले अस्ट्रेलियामा समेत चर्चा पाइसकेको भनाइ उहाँको छ ।
कार्यक्रममा एनआरएन ओसेनियाका उपसंयोजक अरुण ठाकुरले रंगको तिहारका रुपमा रहेको होली राष्ट्रिय पर्व बनिसकेको र विदेशमा बस्दै गर्दा पनि यसको महत्व बिर्सनु नहुने चर्चा गर्नुभयो । ठाकुरले रंगको मिश्रणसँगै रंगिने होलीले नेपालीबिच पनि आपसी सदभाव र अपनत्व काय राख्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
एन्टाका अध्यक्ष रन्जित शाहले नेपालबाट सात समुन्द्रपारि विदेश आए पनि हामीले आफ्नो कला संस्कृति बिर्सनु नुहने बताउँदै सहयोग र सद्भावका साथ भव्यरुपमा सफल बनाउन सहयोग गर्ने मनहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
रंगहरुको पर्वका रुपमा नेपाल तथा भारतमा मनाइने होली पर्व थप लोकप्रिय बन्दै गएको छ । यो एउटा हाम्रो महत्वपूर्ण चाड बनिसकेको छ ,एन्टाका अध्यक्ष रन्जित शाहले भन्नुभयो ।
अध्यक्ष शाहले नेपाली कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले सिड्नीमा एन्टाले होली पर्व आयोजना गर्दै आएको सुनाउनु भयो । एन्टाका बोर्ड अफ डाइरेक्टर अंगद मिश्रले कार्यक्रमको सफलताको कामना गर्दै अस्ट्रेलियामा आएर पनि होली मनाउन पाउनु गर्वको हो भन्नुभयो ।
कार्यक्रममा गायक सुदीन पोखरेलको गीतले युवावर्गमा निकै रंग ल्याएको थियो । यस्तै निर्देशक सोभित बस्नेतले बन्दै गरेको नयाँ चलचित्र पीआरको चर्चा गर्दै यसका कलाकारलाई स्टेजमा उतार्नु भएको थियो ।
होली हंगामा कलाकारहरु आरीफ रौफ, सुशान्त गौतम, सन्ध्या जोशी, उल्सन श्रेष्ठ , समय ब्यान्ड, डीजे नटकेस, मानस राज, जेनिशा गौतम लगायतको प्रस्तुति थियो ।