देवरामप्रसाद यादव
सप्तरी, चैत ३ गते । सप्तरीमा एक सय दशमलव ११ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाका अतिक्रमित वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती गर्ने गरेका छन् ।
डिभिजन वन कार्यालयका प्रमुख सुभासचन्द्र दासले सप्तरीभरिका एक सय दशमलव ११ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमणमा परेको जानकारी दिनुभयो । उहाँले स्थानीयवासीले सामुदायीक वनलाई अतिक्रमण गरेर खेतीपाती गरिरहेको बताउनुभयो । वन अतिक्रमण गर्ने स्थानीयवासीलाई राजनीतिक दलले अघोषित रूपमा समर्थन गर्ने परिपाटीले वनजङ्गल जोगाउन समस्या भइरहेको प्रमुख दासले जानकारी दिनुभयो । उहाँले अतिक्रमणमा परेकोलाई हटाउन जाँदा राजनीतिक दलबाटै प्रतिरक्षा गर्ने गरेको गुनासो गर्नुभयो ।
उहाँले कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा पनि नियमित अनुगमन र सुपरीवेक्षण गर्न नसकेको बताउनुहुँदै बेलाबखतमा स्थानीय प्रशासनसँग समन्वय गरी अतिक्रमणमा परेको वनलाई फिर्ता ल्याउने प्रयास भइरहेको बताउनुभयो । डिभिजन वन कार्यालयमा कुल ९४ जना कर्मचारीको दरबन्दी भए पनि अहिले ८० जनामात्र कार्यरत छन् । जसले गर्दा पनि नियमित रूपमा वन अनुगनम र निरीक्षण गर्न समस्या भइरहेको कार्यालयका प्रमुख दासले बताउनुभयो ।
सप्तरीमा २१ हजार एक सय ३६ हेक्टर वनक्षेत्र छ । सप्तरीमा ९५ वटा सामुदायिक वन रहेका छन् । सामुदायीक वन १८ हजार सात सय ६१ दशमलव २६ हेक्टरमा फैलिएको छ । निजी वन ३८ बिघा २२ कट्ठा ११ धुर क्षेत्रफलमा फैलिएको छ । वनमा साल, खयर, मसला, टिक, सिमल, सिसाैँ, जामुन लगायत प्रजातिका रुख रहेको रेन्जर अमित पोखरेलले जानकारी दिनुभयो ।