• १९ असार २०८१, बुधबार

पूर्वराजा वीरेन्द्रकाे सालिक राख्दा तनाव, प्रहरीद्वारा चार राउण्ड हवाई फायर

blog

केही युवाले स्थापना गरेको शालिक हटाएपछिको अवस्था । तस्विर - सिराज खान । नेपालगञ्ज

सिराज खान / गाेविन्द शर्मा

नेपालगञ्ज, जेठ १९ गते । अनुमति र सहमति विना नेपालगञ्जको धम्बोझी चोकमा बिहीहबार विहानै स्वर्गीय राजा वीरेन्द्रको सालिक स्थापना गर्ने विषयमा प्रहरी र सालिक राख्नेबीच झडप भएको छ । 

राजा समर्थित नेपालगञ्जका युवाले एकाविहानै चोकमा शालिक स्थापना गरेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि चारैतिरबाट ढुंगा प्रहार गरिएको थियो ।

ढुंगा प्रहारपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेर भीड तितरवितर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

सो क्रममा ढुंगा लागेर करिब १५ जना प्रहरी सामान्य घाइते भएको, स्थापना गरिएको सालिकलाई हटाइएको तथा केहीलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।  

धम्बोझी चोकमा सालिक राखेको एक घण्टा बित्न नपाउँदै स्थानीय प्रहरी, प्रशासनले हटाउन खोज्दा झडप भएको उहाँले बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले प्रशासनको अनुमति विना केही युवाले धम्बोझी चोकमा सालिक राखेको र त्यसको केही समयमै प्रहरीले शालिक हटाएको जनाउँदै अहिले अवस्था नियन्त्रणमा रहेको बताउनुभयो । 

यसअघि केही महिना पहिले नेपालगञ्जको त्रिभुवन चोकमा पनि अनुमति विना केही युवाले राजा त्रिभुवनको शालिक स्थापना गरेका थिए । त्यति बेला प्रहरी प्रशासनले कुनै एक्सन लिएको थिएन ।

वीरेन्द्र चोकमा यसअघि पनि सालिक स्थापनाको विषयमा पटक पटक राजावादी समर्थक र सुरक्षाकर्मीबीच झडप हुँदै आएको छ । चोकमा रहेको पुर्व राजाको सालिक जनआन्दोलन सकिएपछि तत्कालिन माओवादी समर्थक युवा विद्यार्थीहरुले तोडफोड गरेपछि पटक पटक शालिक राख्ने र हटाउने विषयमा विवाद रहँदै आएको छ ।  राप्रपाका सह महामन्त्री ऋषिराज देवकोटाले शालिक हटाउने कार्यको विरोध गर्दै संयमता अपनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गरिएको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले धम्बोझी चौकमा भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै शहीद सेतु विकको शालिकमा तोडफोड हुनु निन्दनीय भएको बताउनुभयो । उहाँले सबैपक्षसँग संवाद गरेर अघि बढ्ने बताउनुभयो । 

सो घटनापछि नेपालगञ्जको विपी चोक, गणेशमान चोक र पुष्पलाल चोकमा राखिएका शालिकको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।