गुणबहादुर रोका
सुलीकोट, चैत २ गते। ऐतिहासिक जिल्ला गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्धनका लागि ‘स्रष्टा पदयात्रा’ सुरु भएको छ। देशभरका ३५ जना चर्चित साहित्यकारहरू जिल्लाको इतिहासको अध्ययनका लागि ‘स्रष्टा पदयात्रा’का लागि शनिबार गोरखा सदरमुकाम हुँदै नेपालका प्रथम शहीद लखन थापाको जन्मस्थल शहिद लखन गाउँपालिका–७ शालिक भएको काउले भन्ज्याङ आइपुगेको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनुभयो।
१९३३ साल फागुन २ गते नेपालका प्रथम शहीद लखन थापा सहित ७ जनालाई मृत्युदण्ड दिइएको इतिहासका किताबमा लेखिएको छ। गोरखा ऐतिहासिक, सांस्कृतिक र धार्मिक विविधताको हिसाबले अन्यन्तै सुन्दर क्षेत्र रहेकाले पदयात्री साहित्यकारको पदयात्राले प्रथम शहीद लदखन थापा सहित ७ जनाको इतिहास उजगार गर्न सहयोग पुग्ने अध्यक्ष थापाको विश्वास छ।
पदयात्रा नेपाल काठमाडौँका अध्यक्ष शीतल गिरीको नेतृत्वमा श्रष्टा पदयात्रीहरू शहीद लखन गाउँपालिका आइपुगेका छन्। पदयात्राका क्रममा स्रष्टाहरूले जिल्लाको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन गर्दै लेख रचना, तथा भिडियो डकुमेन्ट्रीमार्फत उजागर गर्ने छन्। पदयात्रामा चर्चित गजलकार ज्ञानुवाकार पौडेल, साहित्यकार खोलाघरे साइलो, मन्दिरा मधुश्री, शान्ति सापकोटा, गीता रेग्मी, हरिश कल्पित, डा.बालचन्द्र मिश्रलगायतको सहभागिता रहेको छ।
पदयात्रामार्फत गोरखाको इतिहास चिन्न र चिनाउन मद्दत पुग्ने पदयात्राका अध्यक्ष शीतल गिरीले बताउनुभयो। स्थानीय कला संस्कृतिलाई जोगाउन सकेमात्र पर्यटकलाई आर्कषित गर्न सकिने बताउनुभयो।
उहाँले गुरु गोरखनाथको प्रसादको रूपमा रहेको ‘रोट’लाई मात्र चिनाउन सके पनि जिल्लाको पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
साहित्यकारहरूको पदयात्राले गोरखा भ्रमण वर्षलाई थप उचाइमा पुर्याउनका लागि महत्त्वपूर्ण सहयोग पुग्ने गोरखा नगरपालिका मेयर कृष्णबहादुर रानामगरले बताउनुभयो।