ज्ञानको उपल्लो अर्थ जनाउने शब्दका रूपमा बुझिन्छ, प्रज्ञा । जन्मजात सिकिने र व्यवहारमा ल्याइने ज्ञानलाई प्राकृतिक वा सहज ज्ञान भन्न सकिन्छ । सामाजिक परिवेशबाट सिकिने ज्ञान सहज ज्ञानभन्दा फरक र विस्तारित हुन्छ । यस्तो ज्ञानलाई व्यावहारिक ज्ञान भनिन्छ । व्यावहारिक ज्ञानभन्दा माथिको ज्ञान, चैतन्यद्वारा निर्देशित भएर मात्र प्राप्त गरिन्छ । यस्तो ज्ञान प्राप्तिका लागि चिन्तनमनन, अध्ययन, अन्वेषण, अनुसन्धानको जरुरत पर्छ ।
चैतन्य अन्तः चक्षु हो, भित्री आँखा हो । अन्तः चक्षु चाहिँ विवेक हो । बुद्धि वा बौद्धिकताका साथसाथै हृदयको गहिराइबाट निःसृत हुने चेतना हो, विवेक । सामान्य चेतनामा बुद्धिको प्रधानता रहन्छ । विवेकमा तर्कको प्राधान्यता रहँदैन । विवेकमा तर्क वा विचारको छनोट रहँदैन । प्रज्ञा ज्ञानको उच्चतम श्रेणीमा रहन्छ । ज्ञानबिना त प्रज्ञाको निर्माण नै हुँदैन, बरु ज्ञानलाई मन्थन गरेर परिष्करण गरेर, दिव्यतर बनाएर नै प्रज्ञाको प्रादुर्भाव हुन्छ । प्रज्ञा त कुनै एक विषय विशेषको चौतर्फी अध्ययन, खोज, तुलना र मूल्याङ्कन गरेर निचोडका रूपमा प्राप्त हुन्छ । प्रज्ञाले नवीनतम ज्ञानको उद्बोधन गर्छ । ज्ञानको नयाँ क्षितिज उघार्छ ।
प्रज्ञा प्राप्ति आजको भोलि हुने कुरा होइन । संसार जीव जगत्, प्राकृतिक जगत् र मनुष्य जगत्मा विस्तारित छ । संसार नै ज्ञान जगत् र प्रज्ञा जगत् पनि हो । यहाँ जे पनि उपलब्ध छ । अर्को अदृश्य जगत् छ । त्यो चैतन्य जगत् हो । चैतन्य जगत्लाई वरण गर्न सक्ने प्राणी मानिस मात्र नै हो । मानिस चैतन्यधाममा प्रवेश गरेर ब्रह्माण्डका रहस्यहरूको खोजी गर्न सक्छ । ऋषिमुनिले त्यस्ता धेरै रहस्यको खोजी गरेर प्राप्त ज्ञानलाई सङ्ग्रह गरी छोडेका छन् । उनीहरूले छोडेको चिन्तन र तपस्याद्वारा सङ्कलित ज्ञान प्रज्ञा हो । वेद, उपनिषद वा गीता ज्ञान प्रज्ञाका विभिन्न रूप हुन् । तिनमा ऋषिमुनिद्वारा गरिएका चिन्तनमा आधारित ज्ञानका स्रोत छन् । अध्ययन र अन्वेषणद्वारा प्रयोगसिद्ध विज्ञानका सूत्रहरू छन् । ज्ञानलाई प्रयोगद्वारा प्रमाणित गरी मानव कल्याणहेतु प्रकाशमा ल्याइएका व्यावहारिक स्वरूप वा सूत्रहरूको समष्टिगत नाम नै विज्ञान हो भन्न सकिन्छ । पौरस्त्य शास्त्र धेरै विज्ञानसम्मत पनि छन् । ती ज्ञान शास्त्र मात्र नभई प्रज्ञा शास्त्र पनि हुन् । जीवन र जगत्लाई हेर्ने ऐना हुन् । विज्ञान भौतिकवादी यान्त्रिक मात्र छैन प्रज्ञामय पनि छ । फरक यत्ति हो वैज्ञानिक प्रज्ञा परिवर्तनीय र परिष्करणीय रहिरहन्छ, ज्ञानमय प्रज्ञा बढी परिमार्जित र परिष्कृत स्वरूपमा रहिरहन्छन् । सबै वैज्ञानिक उपलब्धि प्रज्ञामा आधारित हुँदैनन् । सामान्य कौशल, सिप, अभ्यास आदिद्वारा निर्मित भएर व्यावहारिक रूपमा आएका हुन्छन् । चन्द्र वा मङ्गलमा रकेट पठाउनु र मानिसले तिनमा पाइला टेक्नुका पृष्ठभूमिमा कत्रो वैज्ञानिक अनुसन्धान र प्रयोग भयो होला । त्यो वैज्ञानिक प्रज्ञा हो । प्राकृतिक रहस्यको नियमको अनुसन्धानात्मक र प्रयोगात्मक खोजको अन्तहीन प्राज्ञिक यात्रा हो, विज्ञान । अल्बर्ट आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त एवं न्युटनको गुरुत्वाकर्षणको सिद्धान्त आदि वैज्ञानिक प्रज्ञाका केही शीर्ष उदाहरण हुन् । आइन्स्टाइन, न्युटन, एडिसन, ग्यालिलिओ, मार्कोनी, कपर्निकसलगायतका अनगन्ती वैज्ञानिक विज्ञान जगत्का महाप्राज्ञ थिए ।
ज्ञानलाई व्यावहारिक जीवनमा अपनाउन थालेपछि नै मानव सभ्यताले फड्को मार्न थालेको हो । मिश्र, कन्स्ट्याक्टिनोपोल, मोहन्जोदाडो आदि प्राचीन मानव सभ्यता केन्द्रले तत्कालीन मानव ज्ञान र विज्ञानलाई स्मरण गराइरहेका छन् । हजाराैँ वर्षसम्मका प्राकृतिक प्रकोपद्वारा पनि नष्ट नभएका संरचनामा प्रयोगमा ल्याइएको वास्तुशास्त्र तत्कालीन मात्र नभएर वर्तमान युगसम्मकै लागि आश्चर्यमय रहेका छन् । प्राचीन वैज्ञानिक अनुसन्धान र खोज वर्तमानका लागि पुरातात्त्विक वा पुरासात्त्विक शास्त्रको प्राज्ञिक अध्ययन हो । पुराताìिवक अध्ययनले भेट्न नसक्ने ऐतिहासिक ज्ञानलाई पुरासात्त्विक अध्ययन र खोजद्वारा प्राप्त गर्न सकिन्छ । सभ्यताको इतिहास ज्ञानमय र विज्ञानमय भएरै निर्माण भएको हो । ज्ञान, विज्ञान दुवै मानव आविष्कार हुन्, आवश्यकता हुन् । ज्ञानले अन्तरसामथ्र्य बढाउँछ, विज्ञानले भौतिक सामथ्र्यको विस्तार गर्छ । प्रज्ञाले नयाँ ज्ञानको खोजी, उत्पादन गर्छ । प्रज्ञा ज्ञानको सबैभन्दा तेजिलो आँखा हो, समाज एवं मुलुकको हृदयको पोषण हो ।
प्रज्ञा प्राप्त व्यक्तिलाई प्रज्ञावान् भनिन्छ, प्राज्ञिक भनिन्छ । प्रज्ञा प्राप्त गर्न ज्ञान प्राप्तिका अनेक चरण पार गर्नु पर्छ । ज्ञानारोहणको शिखरमा पुगेपछि प्रज्ञाको प्राप्ति हुन्छ । विश्वस्तरीय ज्ञान पाउन अध्ययन, अभिलेखन र प्रकाशनलाई पनि उत्तिकै व्यापक बनाउनु पर्छ । अभिलेखन, प्रकाशनबाट नै व्यक्तिको ज्ञानबाट मानव समाज लाभान्वित हुन जान्छ । भावी पिँढीले त्यसबाट प्रेरणा पाएर अझ नयाँ ज्ञानको खोजीमा लाग्छ । अभिलेखहरू ज्ञान र प्रज्ञाका सञ्चिति हुन्, भविष्यका आँखाबाट विगतलाई हेर्ने ऐना हुन् ।
युरोपमा पुनर्जागरण युगको सूत्रपात हुनमा त्यसअघि खुलेका विश्वविद्यालयका बौद्धिक÷प्राज्ञिक वर्गको ठुलो र महìवपूर्ण योगदान रहेको कुरा इतिहासकारले बताएका छन् । त्यसैले विश्वविद्यालयको प्राज्ञिक वर्ग नयाँ युगको प्रवर्तक हुन सक्छ । वर्तमान संसारमा हजाराँै विश्वविद्यालय ज्ञान आर्जनका केन्द्रका रूपमा रहेका छन् । विश्वविद्यालय वास्तवमा शैक्षिक स्थल मात्र नभएर प्रज्ञा–प्रतिष्ठान वा प्रज्ञा केन्द्रहरू हुन् । यस्ता प्रतिष्ठानले ज्ञान मात्र नभई प्रज्ञाको पनि निर्माण गरिरहेका हुन्छन् । प्रतिष्ठानद्वारा अनुसन्धानमा आधारित रहेर उत्पादन गरिने प्रज्ञा मूलतः तथ्य, विश्लेषण, तर्क वा विधिद्वारा प्रमाणित रहने गर्छ । प्रज्ञाका स्वरूपलाई विभिन्न ढङ्गमा बुझ्न, अनुभूत गर्न सकिन्छ । आध्यात्मिक जगत्का दर्शन मूलतः आत्माकेन्द्रित रहेका छन् । वेद, उपनिषद, रामायण, महाभारत, एवं कतिपय पुराणले आध्यात्मिक ज्ञान जगत्लाई प्रकाशमा ल्याएको पाइन्छ । यस्ता पौराणिक शास्त्रले मानवीय जीवनदर्शनलाई सघन रूपमा अथ्र्याएका छन् । मानवोचित कर्मका सिद्धान्तलाई नीतिबद्ध गरी पौरस्त्य ऋषिद्वारा हजारौँ वर्षपहिल्यै जुन जीवनदर्शनको अभिलेखन गरियो, त्यो अन्तः प्रज्ञा हो । अन्तः प्रज्ञा मूलतः अमूर्त छ । अनुभूतिमा रहने सत्य अमूर्त नै हुन्छ । कर्णप्रिय सङ्गीत सुनेर प्राप्त हुने आनन्द, सुन्दर फूलले सजिएको उद्यानमा पुग्दा उत्पन्न हुने सौन्दर्यानुभूति अमूर्त हुन् तर तिनको प्रभाव सबैमा पर्छ । अन्तः प्रज्ञाले त्यही आनन्द र सुखानुभूतिको लोकमा पु¥याउँछ । ज्ञानको क्षितिज उघार्ने पूर्वीय शास्त्रहरू मूलतः अन्तः प्रज्ञाका प्रकाशक हुन् । ईश्वरीय अनुभूति प्राप्त हुनु अन्तः प्रज्ञा हो भन्न सकिन्छ । अन्तः प्रज्ञाको प्राप्ति शास्त्रको अध्ययन गरेर मात्र नभई हृदयको स्वस्फूर्त अनुभूतिगम्यताबाट हुन सक्छ । अन्तः प्रज्ञाले व्यक्तिमा अन्तरसामथ्र्य बढाउँदै आशावादतर्फ डो¥याउँछ ।
धर्मले नैतिकता एवं आदर्शात्मक चेतनालाई प्रवर्धन गर्दै मानव समाजलाई अनुशासित र मर्यादित बनाउन बढी भूमिका खेल्दै आएको पाइन्छ । धर्मले प्रवाहित गर्ने त्यही चेतना नै अन्तः प्रज्ञाको स्वरूप हो । सामाजिक जीवनमा हरेक तहमा यसले प्रभाव पार्छ । आमजनमानसमा कुनै न कुनै स्तरमा यस अन्तः प्रज्ञाको प्रकट वा अप्रकट स्वरूपलाई अनुभूत गर्न सकिन्छ । मानवीय गुण र स्वभाव यसै अन्तः प्रज्ञाको माध्यमबाट निःसृत हुन्छन् । मानव समाजकै वस्तुगत अवलोकनबाट प्राप्त अनुभूतिद्वारा द्रवित भएर सिद्धार्थ गौतमले अन्तः प्रज्ञा महायात्राको आरम्भ गरे । धर्मले मानव जगत्लाई अन्तः प्रज्ञामय चैतन्य प्रदान गर्दै आएको छ । अन्तः प्रज्ञाको आधारका रूपमा धर्मको अस्तित्व पनि समाज स्वीकृत रहँदै आएको अनुभव गर्न सकिन्छ । संसारका सबै धर्मको अन्तर्य अन्ततः अन्तः प्रज्ञा प्राप्तिकै लागि हुन् । अन्तः प्रज्ञा हृदयको अनुभूति र उद्गार हो जसलाई कुनै अनुसन्धान वा मापदण्डमा सीमाङ्कन गर्न सकिन्न ।
अन्तः प्रज्ञाको अर्को आयाम अध्यात्म हो । अध्यात्म धर्मसँग जोडिएको पाइन्छ । अध्यात्म पनि मानव चेतनाको उच्चतम स्वरूप हो । जुन धर्मभन्दा अलग्गै र सर्वमान्य चेतन तहमा आलोकित रहन्छ । मानव जगत्ले धर्मलाई सीमाङ्कन र विभाजित गरेको पाइन्छ । अध्यात्मलाई धर्मबाट अलग्याएर बुझ्न खोज्दा यसको परिधि सीमाङ्कित नभएर सीमाहीन रहेको अनुभव गर्न सकिन्छ । अध्यात्म मूलतः मानवीय विवेकद्वारा निःसृत रहन्छ । दया, माया, प्रेम, करुणा, अहिंसा, शान्ति, पवित्रता, सत्यता, दानशीलता, परोपकार आदि मानवीय भावहरू आध्यात्मिक चेतनाका आधारभूत अभिव्यक्ति हुन् । यस्ता भाव प्रायः आमजनमानसमा विद्यमान रहन्छन् । अध्यात्म अन्तः प्रज्ञाको उच्चतम भावनालाई यी भावले सिञ्चन गर्छन् ।
अध्यात्म विश्वजनीन दृष्टिकोण हो । धर्मको व्यावहारिक चिन्तन समाजकेन्द्रित पनि देखिएको छ । अध्यात्मले समस्त मानव जातिलाई स्पर्श गर्छ । धर्मले मानिसलाई ईश्वरको अनुभूति प्राप्तिका लागि वस्तु जगत्मा वा बाह्य संसारमा डो¥याउने गरेको पाइन्छ । तथापि ईश्वरीय अनुभूतिमा पु¥याउने तìव अध्यात्म हो । ईश्वरको अनुभूति वस्तु जगत्बाट नभई अन्तर्दशनबाट हुने हो । धर्मले समाजलाई नैतिक मूल्यमान्यता एवं चारित्रिक उच्चताका साथ बाँच्न सिकाएको छ । त्यसका लागि मार्गदर्शन गरेको छ । अध्यात्म जागरणका लागि यस्तो जीवनपद्धति आधारभूत रूपमा आवश्यक देखिन्छ । प्रज्ञाबोध गर्न अध्यात्मतर्फको अन्तर्यात्रा जरुरी मानिन्छ ।
‘प्रज्ञा’ ज्ञानको उच्चतम सङ्ग्रहण हो । पौरस्त्य ज्ञान विज्ञानको सङ्ग्रहण गरिएका कैयौँ वाङ्मय सम्पदाद्वारा एसियाली र विशेष गरी दक्षिण एसियाली क्षेत्र अभिसिञ्चित रहँदै आएको छ । वेदलाई सर्वप्राचीन वाङ्मय सम्पदा मानिन्छ । उपनिषदमा ऋषिहरूद्वारा ज्ञान विस्तारण र अभिव्याख्या गरियो । अनेकौँ पुराण, शास्त्र र नीतिको निर्माण हुँदै आयो । ती सबै प्राग्ऐतिहासिक, प्राचीन, ऐतिहासिक प्रज्ञा सम्पदा हुन् । मानव जातिकै अमूल्य निधि हुन् । प्रज्ञा ज्ञान, विवेक र अध्यात्मको सर्वोच्चता हो । ऋषिमुनिहरू महाप्राज्ञ थिए । पौरस्त्य जगत्कै प्राचीन दार्शनिक कन्फ््युसियस, सिद्धार्थ गौतम आदि विश्वमा प्रचलित धार्मिक विश्वास र परम्पराका प्रणेताहरू आआफ्नो समाज, समुदाय र मुलुकका महाप्राज्ञ थिए ।
समयले सधैँ पछ्याइरहने दर्शन प्रज्ञा हो । सबै दर्शन प्रज्ञा र सबै दार्शनिक प्राज्ञ हुन सक्दैनन् । दर्शनभित्रको शाश्वतता नै प्रज्ञाका रूपमा चिरस्थायी रहन्छ । आध्यात्मिक चिन्तन त प्रज्ञाको आधारभूत गुण नै हो । आध्यात्मिक चेतना सामान्य बौद्धिक चेतनाभन्दा फरक छ । अध्यात्म शक्तिलाई आत्माको शक्ति मानिन्छ । आत्माको शक्तिले आत्मविश्वास, आत्मबल, आत्मजागरण बढाई व्यक्तिलाई आत्मोन्नतितर्फ डो¥याउँछ । आत्मदर्शन हुन थालेपछि अध्यात्मको अरुणोदय हुन थाल्छ । अनि प्रज्ञातर्फको यात्रारम्भ हुन्छ ।
‘दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण’ (शाकुन्तल, देवकोटा) । हो, सुन्दर स्वर्ण दाना देख्ने सामथ्र्य भनेको अन्तर्बोध गर्ने सामथ्र्य हो । त्यही सामथ्र्यद्वारा नै प्रज्ञाको बोध हुन्छ । ज्ञान र अध्यात्मको शिखरत्व प्राप्त गरी जीवन र जगत्लाई बुझ्नु नै प्रज्ञाको ध्येय हुन सक्छ ।
मानिसहरू आआफ्ना भौतिक आवश्यकतामा आरम्भ र अन्त्य नभेट्याइने नागबेली झार झैँ जेलिएका छौँ । हामीले प्राप्त गरेका ज्ञान र शिक्षाले हामीलाई न्यूनाधिक बाँच्न त सिकाएको छ तर जीवनलाई बुझ्ने सामथ्र्य दिएको छैन । हामीले बुझेका छाैँ त भन्छाैँ तर बुझाइको फेदसम्म पनि पुगेका हुँदा रहेनछाैँ । ज्ञानज्योति धेरै माथि शिखरमा झल्मलाइरहेछ, हामी फेँदीबाट देखिने जूनलार्ई ‘त्यहीँ त छ नी डाँडामाथि’ भन्ने जस्तो भ्रममा बाँच्दा रहेछौँ । यसभन्दा माथि र पर पुगेर क्षितिज हुने प्राज्ञहरू अत्यन्त थोरै छन् ।
प्रज्ञाबिनाका प्राज्ञ धेरै छन् । सामाजिक कर्ममा निःस्वार्थ ढङ्गमा समर्पित हुने केही व्यक्ति वास्तवमा आध्यात्मिक भावनाद्वारा अभिप्रेरित भएर लागेका हुन् । ती सम्मानित आध्यात्मिक प्राज्ञ हुन् ।
ज्ञानगुनका कुरा मकमक्याएर ज्ञानी कहलिने धेरै छन् । वास्तविक ज्ञानी अपवाद मात्र होलान् । मैले ‘प्रज्ञा’ जस्तो महनीय व्यापकता बोकेको शब्दको अर्थ खोतल्न खोजेको होइन । त्यो गर्न खोज्नु मेरो अर्घेल्याइँबाहेक केही हुने छैन । मैले सुन्दै आएको यस गरिमामय अर्थधारी शब्दप्रतिको सम्मान मात्र हो, यो । कतिपय शब्दको मर्म र तिनले प्रवाहित गर्ने अर्थलाई सिङ्गै शब्दकोशका शब्दहरू खर्चेर पनि व्याख्या गर्न सकिँदैन । तीमध्येकै एक हो, ‘प्रज्ञा’ । अल्पज्ञहरू आफ्नो बुताबाहिरको गफ गरेर ज्ञानी हुनुको आडम्बर देखाउँछन् । मेरो कलमले त्यही आडम्बरी बकबक्याइँ गरेको मात्र हो । ‘प्रज्ञा’ प्रति केहीबेरको घोत्ल्याइँ मात्र हो, यो ।