• २ चैत २०८१, शनिबार

सांसद गंगा कार्कीसँग सांसदलाई सवाल

'राजनीतिक अधिकारले मात्र खान र लाउन दिँदैन'

blog

दोलखाका प्रतिनिधि सभा सदस्य गङ्गा कार्की ।

काठमाडौँ, चैत २ गते। नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवम् दोलखाका प्रतिनिधि सभा सदस्य गङ्गा कार्कीले देश आर्थिक समृद्धिको बाटोमा अगाडि नबढेसम्म जनताको जीवनस्तर सुधार हुन नसक्ने बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै सांसद कार्कीले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो, ‘‘हामीले आर्थिक समृद्धिको बाटोमा नजाने हो भने अधिकारले खान र लगाउन दिँदैन। राजनीतिक परिवर्तन अनुसारको आर्थिक जीवनस्तर सुधार हुन नसक्नु अहिलेको हाम्रो समस्या हो।’’ 

गङ्गा कार्कीको जन्म २०२२ असार ४ गते बुवा टङ्कबहादुर र आमा रत्न कार्कीको कोखबाट भएको हो। बाल्यकाल र विद्यालय शिक्षा उहाँले दोलखाबाटै पूरा गर्नुभयो । पाँच कक्षासम्म जुँगु गाउँको निलकण्ठेश्वर प्राथमिक विद्यालयबाट पूरा गर्नुभएका कार्की ६ देखि १० कक्षासम्म पढ्न जिरी पुग्नुभयो। जिरी व्यावसायिक माध्यमिक विद्यालयबाट उहाँले २०३८ सालमा कक्षा १० पास गर्नुभएको हो। पञ्चायतविरोधी आन्दोलनमा उहाँ कक्षा १० पढ्दा अर्थात् १४ वर्षकै उमेरमा सक्रिय हुनुभयो। 

जुँगु गाउँ पञ्चायतको चुनावताका २०३८ सालमा राष्ट्रिय पञ्चायतको चुनावको मतपेटिका फालेपछि उहाँविरुद्ध १५ वर्षकै उमेरमा राजद्रोहको मुद्दा लागेको थियो। उहाँविरुद्ध चुनावको मतपेटीका फालेको, चौकी कब्जा गरेको, वन कर्मचारीसँग झगडा गरेको, प्रधानपञ्च कुटपिट गरेको गरेर चार वटा राजद्रोहका मुद्दा लागेका थिए। २०३८ सालका यी मुद्दाकै कारण उहाँ २०३९ सालको एसएलसी परीक्षा लेख्दालेख्दै पक्राउ पर्ने डरले परीक्षा छोडेर भाग्नु पर्यो। पहिलो दिनको अंग्रेजी विषयको परीक्षा लेख्दालेख्दै एक घण्टामा भागेको उहाँ सम्झनुहुन्छ। त्यो समयमा कक्षा १० पास गर्दा नै विद्यालयमा पढाउन पाउने व्यवस्था थियो। त्यही व्यवस्था अनुसार उहाँले दुई वर्ष पढाउनुभयो। त्यहाँसमेत राजनीति गरेर निकालेपछि उहाँले काठमाडौँ क्षेत्रपाटीको पक्नाजोलमा मोजा बनाउने सीप सिक्नुभयो। सुरुमा कारखानामा काम सिकेपछि विभिन्न ठाउँमा काम गरेर राम्रो आम्दानी गर्नुभयो। कामसँगै उहाँ तत्कालीन मोटो मसालको मजदुर सङ्गठनमा आबद्ध हुनुभयो। उहाँ २०४६ सालको जनआन्दोलनमा सक्रिय भएपछि २०४७ सालमा नेकपा(मसाल)को मजदुर सङ्गठनमा आबद्ध हुनुभयो। उहाँले मोटो मसालको सदस्यता २०४७ सालमा दिनेश शर्माबाट लिनुभएको हो। 


२०४८ सालमा मजदुर सङ्गठनको केन्द्रीय कोषाध्यक्ष बनेपछि काठमाडौँ छोडेर पुनः दोलखा फर्कनुभएका उहाँ २०४८ सालमै मसाल दोलखा जिल्लाको पार्टी सेक्रेटरी बन्नुभयो। औपचारिक रूपमा २०५२ साल फागुनमा जनयुद्ध सुरुभयो। तर दोलखामा भने माघ १ गते नै युद्ध सुरु भएको उहाँको दाबी छ। माघ १ गते ४२ हजार सात सय डिटोनेटर, दुई भारी जिलेटिन, एक भारी फ्युज वायरलगायत पाँच जनाले कब्जा गरेर माघ १ गते नै भूमिगत भएको उहाँलाई सम्झना छ। सङ्गठनको यो तयारीसँगै उहाँ २०५२ सालदेखि तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा सहभागी हुनुभएको हो। त्यो समयमा उहाँ पूर्वी ब्युरोको सदस्य हुनुहुन्थ्यो। 

सोलुखुम्बु, रामेछाप र दोलखाको कोशी पारीको सेक्रेटरी बनेर काम गर्नुभएका कार्कीलाई २०५४ सालमा भोजपुर, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङको सेक्रेटरीको जिम्मेवारीमा पठाइयो। उहाँले ०५४ देखि ०५८ सम्म पूर्वी क्षेत्रको सेक्रेटरी बनेर काम गर्नुभएपछि २०५८ मा एक महिना हेडक्वाटरमा बस्नुभयो। त्यसपछि उहाँले जनमुक्ति सेनामा जिम्मेवारी पाउनुभएको हो। जनमुक्ति सेनामा ०५८ देखि ०६२ सम्म उहाँले बेथान स्मृति ब्रिगेडको ब्रिगेडियर कमिसारसम्म बनेर काम गर्नुभयो। त्यो समयमा राजधानी वरिपरि भएका साँखु, धानकोट कारबाहीको नेतृत्व कार्कीले नै गर्नुभएको थियो। 


२०६२–६३ सालको आन्दोलनपछि उहाँ दोलखा जिल्ला इन्चार्ज बन्नुभयो। त्यसपछि रामेछाप, भक्तपुर र काभ्रे जिल्ला इन्चार्जको जिम्मेवारी पूरा गर्दै उहाँ पोलिटब्युरो सदस्य बन्नुभएको हो। उहाँ अहिले पार्टीको नेपाल उद्योग व्यापर सङ्घको फ्याक्सन इन्चार्ज हुनुहुन्छ। 

जनयुद्धताका ब्रिगिडियर कमिसारको जिम्मेवारी पूरा गर्नुभएका उहाँसँग  विशेष सैन्य अनुभव छ। उहाँको ‘दुःसाध्य जनयुद्ध’ नाम पुस्तकसमेत प्रकाशित छ। प्रतिनिधि सभाको एउटा मात्र निर्वाचन क्षेत्र भएको दोलखाका सांसद कार्की प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति सदस्य हुनुहुन्छ। 

प्रस्तुत छ - नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवम् दोलखाका प्रतिनिधि सभा सदस्य गङ्गा कार्कीसँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पर्नुभएको भिडियो सामग्री :