काठमाडौँ, चैत १ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरु हुने भएको छ ।
पार्टीले मुलुकमा प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी, गणतन्त्रको पक्षमा जनप्रदर्शन, मुलुकमा पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न काठमाडौँको बबरमहलमा भेला आयोजना गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।
पार्टी निकट जनवर्गीय सङ्गठनका प्रतिनिधि, देशभरका प्रतिनिधि, कार्यकर्तालगायत करिब एक हजार सहभागी हुने भेलाको अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नुहुनेछ । शीर्षनेताहरूले प्रशिक्षण दिने कार्यसूची रहेको भेलामा पार्टीको कार्ययोजना तथा रणनीतिलाई सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश कमिटीले सन्देश प्रवाह गरी जनतालाई चनाखो गराउने तथा जनआन्दोलनको व्यवस्थापन गर्नेछन् ।
पार्टीका सबै तहका कमिटीहरू परिचालन गरी देशभर सङ्गठित सदस्य विस्तार तथा सङ्गठन थप सुदृढीकरण गर्ने राजनीतिक अभियान सञ्चालन गरिने छ । बाँकी रहेका वडा, क्षेत्र, जिल्ला, प्रदेशका अधिवेशन गरी कमिटी गठन गरिने जनाइएको छ । पार्टीले तल्लो कमिटीदेखि माथिल्लो तहका कमिटीका सुझाव समेटेर समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज साथै साङ्गठनिकलगायत अन्य दस्तावेज टुङ्ग्याउने उहाँले जानकारी दिनुभयो ।
दस्तावेज टुङ्गो लगाउन महासचिव घनश्याम भुसालको नेतृत्वमा आठ सदस्यीय कार्यदलसमेत गठन गरेको पार्टीले आगामी कार्यक्रम, नीति तथा योजना एकताबद्ध भएर अघि बढाउने जनाइएको छ ।