• २९ फागुन २०८१, बिहिबार

हसौरामा छुट जग्गा नापजाँचको काम अघि बढाइने

blog

छुट जग्गाको नापजाँचको माग गर्दै ज्ञापनपत्र बुझाइँदै ।

बोमलाल गिरी 

नवलपुर, फागुन २९ गते । मालपोत कार्यालय नवलपुरले कावासोती नगरपालिका–४ को छुट जग्गा नापजाँचको काम तत्काल अघि बढाउने जनाएको छ । कावासोतीका प्रमुख मालपोत अधिकृत हरिकृष्ण सुवेदीले तत्काल छुट जग्गा नापजाँचको काम अघि बढाइने बताउनुभएको हो । 

कावासोती नगरपालिका–४ (शाबिक शिव मन्दिर गाविस) को नक्सा न. (क) (ख) र (ग) को विवादरहित छुट जग्गा जोत, कमोद तथा बसोवास गर्ने वास्तविक जग्गाधनिको नाममा दर्ता गरिदिन माग गर्दै नगरपालिकाको ज्ञापनपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । 

मङ्गलबार मात्र सरुवा भएर यहाँ आउनुभएका सुवेदीले भन्नुभयो, “म नयाँ छु, बुझ्दैछु । जनप्रतिनिधिहरुले पनि धेरै कुरा जानकारी गराउनु भएको छ, गहिराइमा पुगेर अध्ययन गरी कदम चाल्नेछु ।” प्रमुख मालपोत अधिकृत सुवेदी घरजग्गा शाखामै बसेर लामो समय काम गरेकाले त्यो अनुभवका आधारमा यहाँको यो जग्गाका बारेमा केही महत्त्वपूर्ण निर्णय गर्नेमा भूमाफियाबाट पीडित बनेकाहरू आशावादी छन् । 

नेपाल सरकारको २०८० माघ ११ गते राजपत्रमा प्रकाशित छुट जग्गा दर्तासम्बन्धी सूचनाअनुसार कावासोती–४ हसौराको विवादरहित छुट जग्गा जोत कमोद बसोवास गर्ने वास्तविक जग्गाधनीको नाममा दर्ता गरिदिन नगर प्रमुख विष्णुप्रसाद भुसालको तर्फबाट वडाध्यक्ष नारायण लोहनीले ज्ञापनपत्र बुझाउनुभयो ।  

लामो समयदेखि हसौराको जग्गामा जोत, कमोद र बसोवास गर्दै आएका यहाँका नागरिक जसको आफ्नो वा एकाघर परिवारको नाममा नक्सा तथा फिल्डबुक कायम भएकाहरूको छुटजग्गा प्रक्रिया अघि बढाउन नगरपालिकाले आग्रह गरेको छ । 

नेपाल सरकारले २०८० माघ ११ गते राजपत्रमा सूचना प्रकाशित गरी छुट जग्गा दर्ता प्रक्रिया अघि बढाउन सिफारिस गरे पनि हालसम्म प्रक्रिया अघि नबढेको भन्दै नगरपालिकाले तत्काल वास्तविक जग्गाधनीको नाममा जग्गाधनी प्रमाणपूर्जा पाउने व्यवस्था मिलाइदिन मालपोत कार्यालयलाई अनुरोध गरेको वडाध्यक्ष लोहनीले जानकारी दिनुभयो । 

कावासोती ४ को हसौरामा १९१ बिघामध्ये करिब ७० बिघा जमिन चलखेल गरेर जिल्लाभन्दा बाहिरका भूमाफियाले कब्जा गरेको पाइएपछि बुधबार गोरखापत्रले ‘भूमाफियाको कब्जामा ७० बिघा’ शीर्षकमा समाचार छापेको थियो । 

८०९ घरधुरी रहेको कावासोती–४ मा पुस्तौँदेखि खनजोत गरेर बसोवास गरिरहेका छ सय घरधुरीको जग्गाधनीपूर्जा अर्कै व्यक्तिको नाममा रहेको पाइएको छ । वर्षौंदेखि जोतभोग गरेर बसोवास गरिरहेको भए पनि उहाँहरूसँग पूर्जा छैन । 

अध्यक्ष लोहनीले जिल्लाबाहिरका व्यक्तिहरू क्युप्रसाद बस्याल, यज्ञमूर्ति पाठक, काशीनाथ सापकोटा, ठाकुरप्रसाद शर्मा, पर्साबहादुर आले, यदुनाथ पराजुलीलगायतले अवैधानिक तरिकाले जग्गा कब्जा गरेको दाबी गर्नुभएको छ ।