भक्तपुर, फागुन २९ गते । नेपालको पहिलो दमकल सेवा जुद्ध बारुणयन्त्र कार्यालय हो । काठमाडौँमा तत्कालीन राणा शासनकालमा जुद्धशमशेर राणाले आफ्नै नाममा १०९४ सालमा स्थापना गरेसँगै भक्तपुरमा पनि २००१ सालमा स्थापना गरिएको थियो । राणाकालमा अग्नि नियन्त्रणका लागि स्थापना गरिएको जुद्ध बारुण यन्त्रको इतिहास काठमाडौँ र ललितपुरमा नरहे पनि भक्तपुरमा भने अझै पनि सेवाकालीनरुपमै रहेको छ ।
गृहमन्त्रालयअन्तर्गत रहेको यस कार्यालय विपद् जोखिम व्यवस्थापन प्राधिकरणअन्तर्गत लैजाने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले देशभरका सात सय ५३ वटा स्थानीय तहमै दमकल राख्नुपर्ने व्यवस्था गरेपछि काठमाडौँस्थित जुद्ध बारुण यन्त्र कार्यालयले काठमाडौँ महानगरपालिकालाई र ललितपुरस्थित जुद्ध बारुणयन्त्र कार्यालयले ललितपुर महानगरपालिकालाई दमकल हस्तान्तरण गरेका थिए ।
तर भक्तपुर नगरपालिकाले भने जुद्ध बारुण यन्त्रका दमकल आफूले जिम्मेवारी नलिने बताए पनि निकै समय अन्योलको अवस्थामा रहेको भक्तपुर कार्यालयमा मध्पुरथिमि नगरपालिकाले एक, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको संयुक्त लगानीमा एक गरी दुईवटा दमकल खरिद गरी कार्यालयलाई हस्तान्तरण गरेको थियो । ती तीनवटै पालिकाले दमकलसँगै हरेक वर्ष ती दमकलको मर्मतसम्भार र लाग्ने आवश्यक इन्धनको समेत व्यवस्था गर्दै आए पनि भक्तपुर नगरपालिकाले भने सेवा लिए पनि कुनै दायित्व बहन भने गरेको छैन । २००१ सालमा तीन रोपनी सात आना क्षेत्रफलमा भवन निर्माण गरेर सञ्चालनमा ल्याएको जुद्ध बारुणयन्त्रले स्थापनाको ८१ वर्षमा बल्ल सुविधा सम्पन्न नयाँ भवन पाएको छ ।
जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेल यहाँको दमकललाई पनि भक्तपुर नगरपालिकालाई हस्तान्तण गर्न खोजेको, पटकपटक तत्कालीन प्रमुख जिल्ला अधिकारीसँगको नेतृत्वमा नगरपालिकासँग छलफल गर्दा पनि भक्तपुर नगरपालिकाले दमकलको जिम्मेवारी लिन नमानेपछि गृह मन्त्रालयअन्तर्गत नै भक्तपुर दमकलले जुद्ध वारुणयन्त्रको इतिहास जीवन्त राखेको बताउनुहुन्छ ।
भक्तपुरको दमकललाई गबृहमन्त्रालय, मातहत कार्यालय, सहयोग गर्ने नगरपालिका, सहयोगी विभिन्न सङ्घसंस्था एवं प्रतिष्ठान, स्वदेशी तथा विदेशी निकायको सहयोग गरिरहेका छन् । जीर्ण र पुरानो भवनमा लामो समय व्यतित गर्दै धेरै आरोहअवरोह र चुनौती पार गरी जुद्ध बारुणयन्त्र भक्तपुरले जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो सेवालाई कुनै कमी हुन नदिएको उहाँ बताउनुहुन्छ ।
कार्यालय प्रमुख धौभडेल भन्नुहुन्छ, “मेरो जीवनको ३९ वर्ष यहीँ कार्यालयमा विभिन्न पदमा रहेर सेवा गरिरहँदा जीर्ण पानी चुहिने भवनमा थोत्रा दमकलले पनि सेवालाई कमी हुन दिएनौँ, नगरपालिकाले नयाँ दमकल दिएपछि धरै राम्रो भयो । भवन निर्माणको सबै विवादलाई विभिन्न चरणको छलफलबाट सहमति गर्दै नयाँ भवन बनाउन सफल भएका छौँ । जुद्ध बारुणयन्त्रको इतिहास अब यहाँ सधैँ जिवन्त र सेवा निरन्तरता रहन्छ ।” पुरानो, जीर्ण र साँघुरो भवन २०७२ सालको भूकम्पले थप क्षति पु¥याएपछि जोखिम मोलेरै पनि कार्यालय सञ्चालन गर्दै आएको अवस्थामा नयाँ भवन निर्माणका लागि सरकारसँग पटकपटक गरेको आग्रहपछि भवन बन्ने त भयो तर जग्गा आफ्नो नाममा नुहँदा थप समस्या आएको उहाँ स्मरण गर्नुहुन्छ ।
दमकल रहेको जग्गा पनि नेपाली सेनाको नाममा पुगेपछि पटकपटकको छलफल र सहमतिबाट भवन रहेको जग्गा सरकारसँग लिजमा लिने प्रक्रिया पूरा गर्नेदेखि उक्त जग्गामा नयाँ भवन निर्माण गर्न भक्तपुर नगरपालिकाबाट नक्सापासमा गरेको ढिलाइलाई बिर्सन कठिन भएको यहाँका कर्मचारी बताउँछन् । सरकारले भवन निर्माण गर्न बजेटको व्यवस्थापन गर्दा पनि कार्यालयबाट पछाडि वस्तीमा जाने सडक साँघुरो भएकाले निम्तिएको जटिलता पन्छाएर फराकिलो सडक निर्माण गरेर नक्सापास गर्दै नयाँ भवन निर्माणमा भएको ढिलाइले भूकम्पले जीर्ण बनेको भवनमा ज्यान जोखिम राखेर सेवामा तल्लिन रहनुपरेको कठिन क्षणलाई नयाँ भवनले धेरै हदसम्म बिर्साइदिएको कर्मचारी बताउँछन् ।
कार्यालय प्रमख धौभडेल भन्नुहुन्छ, “कार्यालय प्रमुखको हैसियतले मेरो धरै प्रयत्न, स्थानीयवासी र नगरपालिकासँगको पटकपटकको छलफलबाट निकास निकाल्दै पछाडि वस्तीमा जाने सडक फराकिलो पार्न केही जग्गा छाडेर सहमति गरेपछि बल्ल नक्सापास गरेर नयाँ भवन निर्माणको प्रारम्भिक प्रक्रिया अगाडि बढाएर अहिलेको नयाँ भवनमा आइपुगेका हौँ, अब गृहमन्त्री रमेश लेखकबाट उद्घाटन गराउन हामी उहाँलाई कुरिरहेका छौँ ।”
नेपाल सरकार मन्त्रिपरिषद्बाट आगामी ५० वर्षका लागि जुद्ध बारुणयन्त्र भक्तपुरका लागि जग्गा लिजमा प्राप्त भएसँगै नेपाल सरकारको बजेटमा शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना बबरमहल काठमाडौँले २०७७ साउन ६ गते ठेक्का सम्झौता गरी भवन निर्माण सुरु भएको थियो । “अहिले नयाँ भवन निर्माण सम्पन्न भएर यहीँ भवनबाट कार्यालय सञ्चालन गर्न पाउँदा ती दिनमा हामीले भोगेका कठिनाइ, सङ्घर्ष र प्रयत्नलाई बिर्सेर हामीले देखेका सपना पूरा भएकाले साह्रै खुसी लागेको छ,” उहाँ भन्नुहुन्छ ।
नेपाल सरकारको कूल रु पाँच करोड ७६ लाख ९८ हजार ६५८ रूपैयाँ ७७ पैसाको लागतमा निर्माण सम्पन्न भएर २०८१ कात्तिक १ गते सघन शहरी तथा भवन निर्माण आयोजनाले यस कार्यालयलाई हस्तान्तरण गरेको छ । नयाँ भवनबाट कार्यालय सञ्चालनमा आएपनि उद्घाटनमा फेरी ढिलाइ भएको छ ।
यस्ता छन् दमकलको अवस्था
स्थापनाकालमा तत्कालीन सरकारले २००१ सालमा उपलब्ध गराएको डज दमकल अहिले नचल्ने अवस्थामा छ । त्यसपछि २०२४ सालमा बेलायत सरकारले उपलब्ध गराएको डेनिस गाडी मर्मत गरेर चलाउन सकिने अवस्थामा रहेको छ । २०३६ सालमा तत्कालीन सरकारबाट उपलब्ध गराएको म्याग्रस गाडी इन्जिन फेरेर चलाउन सकिने अवस्थामा रहेको छ भने २०३२ सालमा सरकारले उपलब्ध गराएको पानीट्याङ्की, २०५८ सालमा सिद्धीस्मृति प्रतिष्ठानमार्फत उपलब्ध गराएको जर्मन गाडी, २०७३ मा मध्यपुरथिमि नगरपालिकाले खरिद गरी उपलब्ध गराएको दमकल र २०७९ सालमा सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले संयुक्त रूपमा खरिद गरी उपलब्ध गराएको दकमलमध्ये अहिले मध्यपुरथिमि नगरपालिका र सूयविनायक तथा चाँगुनारायण नगरपालिकाले उपलब्ध गराएको दुईवटा दमकल तथा दुईवटा व्याकअपका लागि पानीट्याङ्की चालु अवस्थामा रहेको कार्यालय प्रमुख धौभडेल बताउनुहुन्छ ।
यहाँ रहेका पुराना गाडीहरु जीर्ण भएर थन्किएको अवस्थामा रहेकाले पुराना र नबने तथा नचल्ने अवस्थामा पुगेका दमकललाई यहीँ एक सङ्ग्रहालयको रूपमा विकास गरेर राख्नसके यसको इतिहासलाई सधैँ जीवित राख्ने सकिने उहाँ बताउनुहुन्छ । नगरपालिकाले उपलब्ध गराएको दुईवटा दमकलका लागि आवश्यक इन्धन, जोखिम भत्ता, मर्मत खर्च तीन नगरपालिकाले व्यहोर्दै आएको जानकारी गराउदै छ ।
भक्तपुर, काठमाडौँ, ललितपुरदेखि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको तातोपानीसम्म सेवा दिँदै आएको भक्तपुरका दमकलले अहिले पनि आवश्यक पर्दा जुनसुकै ठाउँमा सेवाका लागि तयार रहँदै आएको छ । कार्यालयमा ३२ दरबन्दी स्वीकृत रहेकोमा १५ जना फायर म्यान, चार जना भारी सवारी चालक, दुई जना हबल्दार र दुई जना क्लिफर, एक नासु, एक खरिदार, एक सहायक कम्प्युटर अपरेटर, एक सहलेखापाल र तीन कार्यालय सहयोगी रहेकामा अन्य पद रिक्त छन् भने २३ जना कर्मचारीलाई करार सेवामा रहेका छन् ।
कर्मचारीका लागि आवश्यक सुरक्षा तालिम, आवश्यक जोखिम सामग्रीका व्यवस्थापन गर्दै आएपनि करार कर्मचारी र यहाँको कर्मचारी एवं कार्यालय सञ्चालनका लागि थप बजेटको आवश्यकता रहेको छ । कर्मचारीलाई अगनी नियन्त्रणका बेला सुरक्षित पार्नु आवश्यक रहेको भन्दै कार्यालय प्रमुख धौभडेलले कार्यालयले आगो नियन्त्रण, इनारमा खसेरका मानिसको उद्धार र ग्यासलगायत विभिन्न क्षेत्रमा हुने आगलागी नियन्त्रणमा समेत तालिम र अन्य सेवा दिँदै आएको उहाँ बताउनुहुन्छ । रासस