धर्बेन्द्र झा
धनुषा, फागुन २९ गते । नेपालको सबैभन्दा लामो धार्मिक पदयात्राको रूपमा परिचित १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाका सहभागीहरू बिहीबार जनकपुरधाम आइपुग्नुभएको छ ।
सहभागीहरूले शुक्रबार बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि मिथिला माध्यमिकी परिक्रमा औपचारिक रूपमा समापन्न हुनेछ छ । परिक्रमाको समापन पश्चात जनकपुरधाममा होली खेल्ने परम्परा रहिआएको छ ।
भारतको कलानेश्वर स्थानमा रेखा खिचेर सङ्कल्प लिँदै औपचारिक रूपमा १५ दिनसम्म १५ ऐतिहासिक स्थानको परिक्रमा गरेका मिथिला माध्यमिकी परिक्रमाका सहभागीहरूले बिहीबार बिहान कलानेश्वर स्थानमा आफूले खिचेको रेखा मेटाउँदै आज जनकपुरधाम आइपुगेको जानकी मन्दिरका पुजारी ऋषिकेश झाले बताउनुभयो ।
जनकपुरधाम आइपुगेका परिक्रमाका सहभागीले जनकपुरधामको रङभूमि मैदान बाह्र बिघा, तिरहुतिया गाछी, रामजानकी मन्दिरको प्राङ्गणसहितको स्थानमा बास लिएका छन् । सहभागीहरूले जनकपुरधामको गङ्गाासागर, धनुषा सागरसहितको पोखरीमा स्नानगरी जनकपुरधामको जानकी मन्दिरसहित विभिन्न मठमन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।
फागुन कृष्णपक्षको औँसी तिथिमा धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट निकालिएको भगवान् रामको डोला र जनकपुरधाम वडा–८ स्थित सुन्दर सदनबाट निकालिएको माता सीताको डोला फागु पूर्णिमाका दिन जनकपुरधाम आएको हो ।
सबैभन्दा लामो धार्मिक पदयात्राको क्रममा सहभागीहरूले नेपालको ११ र भारतको ४ विश्रामस्थलमा विश्राम लिएर नेपाल ९० र भारतको ३० गरी जम्मा १२० किलोमिटरको यात्रा खाली खुट्टा तय गर्दै जनकपुरधाम आइपुगेको हो छ ।
परिक्रममा साधु सन्तसहित हजारौं सर्वसधारणको सहभागिता रहेको छ । परिक्रमाको सहभागीलाई जनकपुरधामको विभिन्न स्थानमा स्वागत गरिएको छ । त्यसैगरी परिक्रमाको सहभागीलाई ध्यानमा राखी जनकपुरधामको विभिन्न सङ्घ संस्थाहरूले निःशुल्क भोजन र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नेपाल–भारत खुला सीमा संवाद समूहले १५ दिनको अवधिमा विभिन्न विश्राम स्थलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजिव झाले जानकारी दिनुभयो ।
यता परिक्रमाको सहभागीलाई मध्यनजर गरी स्थानीय प्रशासनले जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना प्रकाशन गरी परिक्रमा समापन नहुन्जेलसम्म जनकपुरधामको परिक्रमा क्षेत्रमा मास मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।