नारायण तुम्बापो
फिदिम, फागुन २९ गते । पाँचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज चर्च ब्वाइज काठमाडौं र नमोबुद्ध युथ क्लब सप्तरीबिच प्रतिस्पर्धा हुँदैछ ।
दुबै टोली उपाधि यात्रालाई एक कदम अघि बढाउने लक्ष्यसहित मैदानमा उत्रने छन्।् । चर्च ब्वाइज काठमाडौं लिग लिडरका रूपमा अनुभवसम्पन्न बलियो टोली हो । टोलीसँग विदेशी खेलाडी तल्ला र फोफोना रहेका छन् । राज भुसाल र अभिषेक महतोजस्ता दक्ष घरेलु खेलाडीहरूले टोलीलाई मजबुत बनाएका छन्।् ।
मैदानको अनुभव र खेल नियन्त्रण गर्ने क्षमताका कारण चर्च ब्वाइजलाई फाइनलको प्रमुख दावेदारको रुपमा हेरिएको छ । यता, नमोबुद्ध युथ क्लब पनि कमजोर छैन । टोलीसँग विदेशी खेलाडी एलेक्स विलियमका साथै अनुभवी खेलाडी दिपेश चाम्लिङ र अन्य प्रभावशाली खेलाडी छन्। उनीहरु चर्च व्वाइजलाई चुनौती दिने योजनासहित मैदानमा उत्रने बताएका छन् ।
दुवै टोलीको हालसम्मको प्रदर्शन हेर्दा प्रतिस्पर्धात्मक खेल हुने अनुमान गरिएको छ । चर्च ब्वाइजको आक्रमण र नमोबुद्धको रक्षात्मक रणनीति खेलको महत्वपूर्ण पक्ष बन्न सक्छ । दुवै टोलीका समर्थकहरू उत्सुकताका साथ आजको खेलको प्रतीक्षा गरिरहेका छन् ।
यी दुई टिमको प्रतिस्पर्धाले फिदिमको मिनी रङ्गशालाको माहोललाई अझ रोमाञ्चक बनाउनेछ । दर्शक उत्कृष्ट खेलको नजरपान गर्ने अपेक्षामा छन् । दुबै टिमको खेलशैलीले रोमाञ्चित बनाउने विश्वास छ । यी दुई सशक्त टोलीमध्ये कुनले फाइनलको यात्रा तय गर्नेछ यसको परिणामसहितको उत्तर भने आज हुने खेलले मात्र दिनेछ ।