शेरबहादुर राई
ओखलढुङ्गा, फागुन २९ गते । ठेकेदारका कारण अलपत्र परेको तत्कालीन जिल्ला शिक्षा कार्यालय ओखलढुङ्गाको भवन निर्माण स्थल जङ्गलमा परिणत भएको छ । ठेक्ला लागेको १० वर्ष बित्दासमेत भवन निर्माणको काम सम्पन्न भएको छैन ।
२०७१ असार ३१ गते भवन निर्माणको जिम्मा पाएको गाल्वा पुष्पाञ्जली जेभीले भवन निर्माणका लागि घडेरी सम्याउन र डीपीसीको काम गरेर छोडेको थियो । जग्गा सम्याउन र भवनको जग हाल्न २० लाख खर्च भएको बताइएको छ । अहिले उक्त निर्माण स्थलमा उत्तिसको जङ्गल भएको छ । निर्माण कम्पनीले एक वर्षभित्र भवनको काम सक्ने गरी दुई करोड ८८ लाख ६७ हजार रुपैयाँमा सम्झौता गरेको थियो ।
निर्माण स्थलमा निर्माण सामग्री पुर्याउन समस्या भएको, भूकम्प र नाकाबन्दी लगायतका कारण देखाएर ठेकेदार कम्पनीले काम अघि बढाएको थिएन । हालको शिक्षा विकास तथा समन्वय इकाईले पटक पटक स्पष्टिकरण सोधेर दुई वर्ष अघि ठेक्का तोडिएको सूचना अधिकारी विष्णु प्रसाद कडेलले बताउनुभयो । पर्याप्त बजेट नआएकाले नयाँ ठेक्का आह्वान नभएको कँडेलको भनाई छ । व्यक्तिको घरमा वार्षिक लाखौँ रुपैयाँ भाडा तिरेर हाल शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय सञ्चालन भइरहेको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवन लगायत लामो समय देखी जिल्लामा अलपत्र र रुग्ण अन्य आयोजनाहरूको काम अगाडी बढाउन विशेष पहल गरिने ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताउनुभयो ।
भर्खरै प्रमुख जिल्ला अधिकारीका रूपमा ओखलढुङ्गा आउनुभएको प्रजिअ सुवेदीले लामो समय देखी अलपत्र परेका विकास निर्माणका कामलाई सञ्चालन गर्न प्राथमिकताका साथ पहल गरिने बताउनु भएको हो ।
स्थानीय तह र सरोकारवाला निकायसँगको समन्वयमा अलपत्र आयोजनालाई गति दिने प्रजिअ सुवेदीले बताउनुभयो । साथै जिल्लाको शान्ति सुरक्षा, सुशासन कायम गर्न तर्फ पनि विशेष योजना बनाएर काम गरिने प्रजिअ सुवेदीले बताउनुभएको छ ।