फडिन्द्र अधिकारी
लेखनाथ, फागुन २८ गते । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएकाले यसैलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । संविधान जारी भएको एक दशक नपुग्दै पुरानो व्यवस्थाको लाभ लिएका र अराजक समूहले यो व्यवस्थाप्रति अफवाह फैलाउन थालेको उहाँको भनाइ छ ।
गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले यही संविधान र यही व्यवस्थाबाटै देशको कायाकल्प हुन सक्ने उल्लेख गर्नुभयो । “अहिलेका संविधानको विकल्प र अहिलेको व्यवस्थाको विकल्प सम्भव छैन,” उहाँले भन्नुभयो, “उन्नत, आधुनिक र जनसहभागितामूलक अहिलेको व्यवस्थालाई प्रभावकारी बनाउन संविधान लागू गर्दै, ऐनहरु बनाउँदै अघि बढ्नु पर्छ ।”
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेशको तेस्रो महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै उहाँले लोकतन्त्र र पत्रकारिता एकअर्काका परिपूरक भएको उल्लेख गर्नुभयो । गण्डकी सरकार पत्रकारिताको विकास र समृद्धिका लागि यथोचित प्रबन्ध गर्दै अघि बढ्ने उहाँले प्रतिबद्धता गर्नुभयो । स्थिर सरकार र समृद्धिका लागि दुई प्रमुख दलको सत्ता सहकार्य भएको उल्लेख गर्दै उहाँले जनताका अपेक्षा पूरा गर्ने गरी सरकार अघि बढेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा फोनिजका सङ्घीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले फोनिजमा आवद्ध पत्रकारहरुले एकसाथ दुई दायित्व निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । उहाँले एकातिर पत्रकारिताको व्यावसायिक विकास र अर्कातिर आदिवासी, जनजातिका सवाललाई मुखरित गर्दै अघि बढिरहेको उहाँको भनाइ छ । नेपालको संविधानमा लिपिबद्ध भएका कतिपय अधिकार अझै सुनिश्चित हुन बाँकी रहेकाले आदिवासी जनजाति पत्रकारले त्यसका लागि निरन्तर खबरदारी गरिरहनुपर्नेमा उहाँको जोड छ ।
“संविधानमा भएका कतिपय अधिकार आदिवासी, जनजातिले पाएका छैनन्, ऐनहरु बनेका छैनन्,” उहाँले भन्नुभयो, “आदिवासी जनजातिका मुद्दालाई स्थापित गर्न हामी लाग्नैपर्ने छ । राज्यका निकायहरुको अगुवाइ कहिल्यै गर्न नपाएका आदिवासी, जनजातिलाई अघि बढाउन भूमिका निर्वाह गर्नु हाम्रो दायित्व हो ।”
नेपाल पत्रकार महासङ्घले नियतवश महासङ्घका संस्थापकको इतिहास पृथक बनाएको उहाँको भनाइ छ । “सबै तथ्य, प्रमाणले महासङ्घको संस्थापक सभापति सत्यनारायणबहादुर श्रेष्ठ भएको देखिन्छ,” गोरखापत्र अनलाइनका निमित्त सम्पादकसमेत रहनुभएका चौधरीले भन्नुभयो, “तर महासङ्घले कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति मानेको छ । के जनजाति भएकै कारणले यस्तो भएको हो ?”
सोही समारोहमा फोनिज गण्डकीद्वारा सञ्चालित मिलन पत्रकारिता पुरस्कार २०८१ बाट पर्वतका पत्रकार सञ्जय रेग्मीलाई सम्मान गरियो । पुरस्कार राशि २० हजार एक सय ११ रुपियाँ र सम्मानपत्र छ । सोही अवसरमा फोनिज गण्डकीले नेपाल पत्रकार महासङ्घ, गण्डकी, खेलकुद पत्रकार मञ्च गण्डकीलगायतका सङ्घ, संस्थामा निर्वाचित फोनिजका सदस्यहरुलाई समेत सम्मान गरेको छ । कार्यसमिति सदस्य सुमन गुरुङ उत्कृष्ट कार्यसमिति सदस्यका रुपमा नगद पाँच हजारसहित सम्मानित हुनुभयो ।
प्रदेश अधिवेशनमा फोनिजका सङ्घीय महासचिव समीर बलामीले देशभरका साढे चार हजार पत्रकार आवद्ध फोनिज एउटा अभियान र आन्दोलन भएको विचार राख्नुभयो ।
फोनिज गण्डकी अध्यक्ष रुद्र श्रीषमगरको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, फोनिज गण्डकी इन्चार्ज एमबी आस्था मगर, मिलन फाउन्डेसनकी कार्यवाहक अध्यक्ष देवी गुरुङ, फोनिज गण्डकी उपाध्यक्ष खिमा गुरुङ, महासचिव धनबहादुर गुरुङ ‘सुमन’, पुरस्कृत पत्रकार सञ्जय रेग्मीलगायतले बोल्नुभएको थियो ।
फोनिज गण्डकीको महाधिवेशनले २१ सदस्यीय नयाँ प्रदेश कमिटी निर्वाचित गर्ने छ । महाधिवेशनमा गण्डकीका आठ जिल्लाका प्रतिनिधि सहभागी छन् । फोनिजको केन्द्रीय महाधिवेशन आगामी चैत अन्तिम साता लुम्बिनीमा हुने तय छ ।