सुरेश धामी
चैनपुर (बझाङ), फागुन २८ गते । बझाङमा रेबिजविरुद्धको खोप (एआरभी) अभावका कारण कुकुर तथा अन्य जनावरको टोकाइबाट घाइते भएका बिरामीहरू उपचार नपाएर घर फर्किन बाध्य भएका छन् । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले समयमा खोप उपलब्ध गराउन नसक्दा जिल्लावासी स्वास्थ्य सङ्कटमा परेका हुन् ।
छविसपाथिभेरा गाउँपालिका–६ माटेसाङ्गुकी ८ वर्षीय प्रमिका सिंहलाई आइतबार घरपालुवा कुकुरले टोकेको थियो । बहुला कुकुरले टोकेको आशङ्कामा रेबिज खोप लगाउनुपर्ने भए पनि रात परिसकेका कारण तत्काल अस्पताल लैजान सकिएको थिएन । प्रमिकाका बुबा भुवन सिंहका अनुसार सोमबार बिहानै छोरीलाई जिल्ला अस्पताल पुर्याइए पनि खोप अभावका कारण उपचार सम्भव भएन ।
“अस्पताल प्रशासनले ‘रेबिजको खोप छैन, सकिएको धेरै भयो’ भन्दै हामीलाई फर्काइदियो,” सिंहले गुनासो गर्नुभयो । खोप अभावबारे प्रमुख जिल्ला अधिकारी (सिडिओ) ओमप्रसाद भट्टसँग भेटेर जानकारी गराउन खोज्दा सुरक्षाकर्मीहरूले भित्र जानै नदिएको उहाँको आरोप छ । सअघि पत्रकार उत्तमकुमार थापाका तीन वर्षीय छोरालाई पनि कुकुरले टोकेको थियो । तर जिल्ला अस्पतालमा खोप उपलब्ध नभएकै कारण उहाँ पनि छोरालाई उपचार गराउन नसकी फर्किन बाध्य हुनुभयो ।
खोप आपूर्तिमा ढिलाइ, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको सफाइ
बझाङ जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीका अनुसार, जिल्लामा मात्र नभई सुदूरपश्चिमभर नै रेबिज खोपको अभाव रहेको छ । “हामीले पटक–पटक खोप माग गरेका छौँ, तर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पठाउन सकेको छैन,” उहाँले भन्नुभयो। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीका सूचना अधिकारी जयन्द्र बोगटीका अनुसार, सङ्घीय सरकारबाट खोप आपूर्ति हुने भएकाले ढिलाइ भएको हो । “धनगढीमा समेत खोप अभाव थियो, तर अब केही दिनभित्रै खोप आइपुग्ने र जिल्लामा आपूर्ति गरिने बोगटीले जानकारी दिनुभयो ।
रेबिज एक प्राणघातक रोग हो, जसको समयमा उपचार नभए मृत्यु समेत हुनसक्छ । कुकुर वा अन्य जनावरको टोकाइपछि २४ घण्टाभित्र भ्याक्सिन लगाउनुपर्ने भए पनि हाल खोप अभावका कारण बिरामीहरू गम्भीर स्वास्थ्य जोखिममा परेका छन् । यस समस्याको समाधानका लागि सम्बन्धित निकायहरूले शीघ्र पहल गर्नुपर्ने जिल्लावासीको माग छ ।