• २८ फागुन २०८१, बुधबार

पोखरादेखि चिनको छेन्दुसम्म हप्तामा एउटा चार्टर उडान हुँदै

blog

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सहभागीहरू । तस्बिर : माधवप्रसाद बराल

माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), फागुन २८ गते ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनको सिचुवान प्रान्तको छेन्दुमा आगामी चैतदेखि हप्तामा एउटा चार्टन उडानको तयारी थालिएको छ । विमानस्थल बनेको दुई वर्षसम्म पनि नियमित उडान हुन नसकेपछि विमानस्थललाई चलायमान बनाउन पहल थालिएको हो ।

पोखराका पर्यटन व्यावसायीको छाता संस्था पोखरा पर्यटन परिषद्को नेतृत्वमा चिनियाँ दूतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा चार्टर उडान गर्न लागिएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार तीन महिनासम्म हप्तामा एउटा चार्टर उडान हुनेछ ।

तीन महिनाको अवधिमा करिब एक हजार दुई सय ५० चिनियाँ पर्यटक छेन्दुबाट सिधा पोखरा विमानस्थलमा अवतरण गराउने प्रयास थालिएको उहाँले बताउनुभयो । आगामी चैत ५ गते छेन्दुबाट पोखरा र पोखराबाट छेन्दु चार्टर उडान हुन लागेको छ ।

चैत ५ गते सिचुवान एयरलाइन्सको विमानले एक सय २७ चिनियाँ पर्यटक लिएर पोखरा विमानस्थलमा अवतरण गर्नेछ । उक्त विमानले सोही दिन एक सय २७ जना नेपालका पर्यटन व्यवसायीलाई लिएर छेन्दु उडने पोखरा पर्यटन परिषद्का महासचिव जीवन सापकोटाले जानकारी दिनुभयो । चैत ५ गतेदेखि हप्तैपिच्छे एउटा चार्टर उडान गराउने तालिका बनाइएको सापकोटाको भनाइ छ ।

चैत ५ गतेको पहिलो व्यावसायिक चार्टर उडानमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पाद समिति संयोजक गोपीबहादुर भट्टराईं, पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीलगायत पर्यटन व्यावसायी उक्त उडानमा सहभागी हुनेछन् ।

उनीहरू छेन्दु, लुझोउ, इमि, लिसन, छोङछिङ ठाउँमा घुमफिर गर्नुका साथै पर्यटन विकास बारे जानकारी लिनेछन् ।  एक हप्ताको प्याकेजको अवधिमा नेपाल इभिनिङ र सेल्स मिसन कार्यक्रम पनि आयोजना गरिने महासचिव सापकोटाले बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको नतेृत्वमा लुझोउ सहरमा केही विशिष्ट व्यक्तिसहित उहाँका समकक्षीसँग भेटवार्ता र महत्त्वपूर्ण विषयमा छलफलसमेत हुनेछ । सुरुवाती चरणमा केही व्यावसायिक चार्टर उडान गरेर त्यसलाई नियमित व्यावसायिक उडानमा परिणत गराउन पहल गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । 

उहाँले अहिले हुने उडानले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सहयोग गर्नुका साथै गण्डकी प्रदेशकै पर्यटनलाई चलाएमान बनाउने विश्वास व्यक्त गर्नुभयो । गत फागनु ३ गते एक समारोहबिच पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरिएको थियो ।