काठमाडौँ, फागुन २८ गते । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहिन, दलित, सुकुम्बासीले छिट्टै प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गर्ने बताउनुभएको छ । जसका लागि भूमि आयोग र भूमि अध्यादेशमार्फत प्रक्रिया अघि बढिरहेको मन्त्री अधिकारीले जानकारी गराउनुभयो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र दलित अधिकार तथा विकास केन्द्र नेपालले संयुक्तरूपमा आयोजना गरेको भूमिहिन सुकुम्बासी एवम् बहुआयामिक गरिब दलित समुदायका लागि भूमि वितरण र गरिबी निवारणका सवालः संवैधानिक अधिकारहरूको प्रश्न विषयक कार्यशाला गोष्ठीमा बोल्नुहुँदै मन्त्री अधिकारीले राष्ट्रिय भूमि आयोगले देशभर भूमिहिन, दलित र सुकुम्बासीहरूलाई कानुनी प्रक्रिया पूरा गरेर वास्तविक भूमिहिनलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको स्पष्ट पार्नुभयो । दलित समुदायले वर्षौंदेखि भोग्दै आएका भूमि क्षेत्रका समस्या र भूमिमा खोजिरहेको स्वामित्वबारे आफू जानकार रहेको मन्त्री अधिकारीको भनाइ छ ।
उहाँले अहिले जारी भएको भूमि अध्यादेश दलित, भूमिहिनहरूको समस्या समाधानका लागि सहजीकरण गर्न ल्याइएको बताउनुभयो । सोहि कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजारा पासवानले देशभरकै भूमिहिन दलितहरूको भूमि समस्या समाधानका लागि यो सरकारले परिणममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भूमि क्षेत्रका दलित अधिकारीकर्मीको सहभागीता रहेको थियो ।