राजकुमार भट्टराई
खोटाङ, फागुन २५ गते । ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्त्वका क्षेत्रहरुका कतीपय ऐतिहासिक कुराहरु मेटिसकेका छन् । खोटाङको डुम्रेधारपानीमा रहेको कोटगढी भने तीन सय वर्ष पुरानो इतिहास बोकेर बाँचिरहेको छ । तर यो ऐतिहासिक क्षेत्रमा पुरातात्विक विभाग वा सङ्घीय र प्रदेश सरकार कसैको पनि नजर पुगेको छैन ।
रावाबेसी गाउँपालिका–४ डुम्रेधाापानीमा रहेको कोटगढी बाइसे–चौबीसे राज्यको पालामा राज्य एकीकरण गर्नका लागि सेनाहरुले युद्ध गर्न बसेको ठाउँ मानिन्छ । किरातवंशीय शासकहरुले राज्य सञ्चालन गर्ने समयमा सेनाहरु बस्न निर्माण गरिएको घरको अवशेष कोटगढीमा अझै सुरक्षित छ । सेनाहरुले खानेपानी जम्मा गर्न निर्माण गरेको इनार र इनार निर्माण गर्न स्थानीय स्तरमा बनाएको इटा पनि अहिले सुरक्षित रहेको छ ।
डाडाँमा नजिकै पानीको मुहान नहुँदा दुधकोसीबाट सेनाहरुले पानी बोकेर प्रयोग गर्ने गरेका थिए । हाल कोटगढीमा रहेको एउटा खाल्डो सेनाले कोसीबाट बोकेको पानी जम्मा गर्न निर्माण गरिएको इनार रहेको विश्वास छ । सयौँको सङ्ख्यामा कोटगढीमा गोला ढुङ्गाहरु पनि रहेका छन् । उक्त ढुङ्गा सेनाले युद्धमा प्रयोग गर्न स्थानीय हतियारकोरुपमा दुधकोशीबाट लगेर राखेको मानिन्छ ।
एकातर्फ रावा खोला र अर्कोतर्फ दुधकोशीले घेरिएको ऐतिहासिकस्थल कोटगढी इतिहास बोकेर बाँचिरहेको भए पनि राज्यको नजर पुग्न नसकेको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानबहादुर पाण्डे बताउनुहुन्छ । यस ठाउँका जानकारका अनुसार करिब तीन सय वर्षअघि बाइसे–चौबीसे राज्यको पालामा किरातवंशीय शासकहरुले राज्य सञ्चालन गर्ने थलो हो, कोटगढी । त्यसवेला नजिकै रहेको डुम्रेकोटगढीमा राज्य सञ्चालन हुन्थ्यो र कोटगढीमा हतियार भण्डार साथै युद्ध स्थान रहेको थियो । जहाँ सेनाहरुले पारी ओखलढुङ्गामा रहेको चिसंखुगढी र अर्कोतर्फ रावा बेसी गाउँपालिकाकै ६ नम्बर वडा हौँचुरमा रहेको पृमाकोटगढीमा रहेका सेनाहरुसँग युद्ध गर्ने इतिहास रहेको वडाध्यक्ष पाण्डेको भनाइ छ ।
उक्त क्षेत्रमा अहिले पनि खानेपानीको समस्या छ । त्यो समयमा पनि खानेपानीको मुहान नजिक नभएकाले सेनाहरु दुधकोशी धाएर पानी ल्याउथे । दुधकोशीबाट धाएर पानी ल्याउने, धाएर पानी ल्याउनेभन्दा भन्दै त्यो क्षेत्रको नाम नै धारापानी रहन गएको जानकारहरु बताउछन् ।
चारै तीरका दृश्य देखिने सुन्दर डाँडा वा ऐतिहासिकस्थल कोटगढीमा हाल कहिले काहीँ स्थानीय पर्यटकहरु भ्रमण गर्न पुग्ने गरेका छन् । स्थानीय सरकारले कोटगढीको संरक्षण भन्दै इनारलाई कंक्रिट गरेको छ । वरिपरी घेराबारा लगाएको छ । गढीसम्म पुग्न सिढी निर्माण गरेको छ । गढीभित्र एउटा प्रतिक्षालय पनि निर्माण गरिएको छ । तर ऐतिहासिक इनारमा भने कंक्रिट गर्न नहुने विज्ञहरु बताउछन् ।
कोटगढी मुनी यस अघि बाक्लो बस्ती रहेको थियो । तर जङ्गली जनावारको आतङ्क र खानेपानीको समस्याका कारण अहिले बसाइसराइँले बस्ती खाली हुँदै गएको छ ।