काठमाडौँ, फागुन, २४ गते। शनिबार विश्वभर ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । यो वर्षको दिवसको नारा ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने छ।विश्वका विभिन्न देशमा जस्तै नेपालमा पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाइँदै छ । नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाए पनि कार्यान्वयन पक्ष कमजोर बनेको प्रतिनिधिसभा सदस्य रञ्जुकुमारी झाको बुझाइ छ। महिला दिवसको सन्दर्भमा गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै सांसद झाले यस्तो बताउनुभएको हो । संविधान सभा सदस्यसमेत रहनुभएकी उहाँ महिलालाई अधिकार सम्पन्न बनाउन कानुन कार्यान्वयको निकायमा पुग्ने व्यक्तिको सोच परिवर्तन हुनुपर्नेमा जोड दिनुहुन्छ । संविधानमा सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको विषय समेट्न सङ्घर्ष गर्नुपरेको अनुभव उहाँसँग छ । आमाको नाममा नागरिकता पाउनुपर्छ भनेर मिहिनेत गर्नुपरेको र आज संविधान कार्यान्वयनको १० वर्ष पुग्न लाग्दा समेत कार्यान्वयन गर्ने व्यक्तिको चेतनामा सुधार ल्याउन नसकेको उहाँको भनाइ छ।
सांसद झाको जन्म बुवा रमाकान्त र आमा सुधादेवीको कोखबाट २०२२ साल भदौ २२ गते सप्तरीमा भएको हो । साविक राजविराज-२ (हाल-१) पररिया गाउँमा उहाँको जन्म भएको हो । राजविराजमा मातृभाषा मैथिली बोल्दै हुर्कनुभएकी झाले छोरीले पढ्नु हुँदैन भन्ने तराईको गलत परम्परालाई तोडेर स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्नुभयो । शिक्षाका लागि विद्रोह गर्नुपर्ने ठाउँमा हुर्किएर उहाँले कानुनमा एलएलबी गर्नुभएको छ। झा मुख्यत महिलाको राजनीतिक, सामाजिक, शैक्षिक तथा आर्थिक सशक्तीकरणका लागि प्रशिक्षण अनुसन्धानमा समेत सक्रिय हुनुहुन्छ।
नेतृ झाले औपचारिक शिक्षा सप्तरीको राजविराजस्थित महाकवि देवकोटा निम्न माध्यमिक विद्यालयबाट प्रारम्भ गर्नुभयो । उहाँले कक्षा ८ देखि राजविराजकै केसो अरुद्धवती माध्यमिक विद्यालयमा पढ्नुभयो। २०३९ सालमा एसएलसी पास गर्नुभएकी उहाँले २०४० सालमा उच्च शिक्षाका लागि राजविराज क्याम्पसमा भर्ना हुनुभयो। १८ वर्षकै उमेरमा २०४० सालमा साविक राजविराज ८ (हाल-५)का मिहिर ठाकुरसँग विवाह भएपछि घर परिवारको जिम्मेवारी र सन्तान हुर्काउँदै उहाँले पढाइमा सङ्घर्ष गर्नुभएको देखिन्छ ।
२०४६ सालको जनआन्दोलनबाट झा विद्यार्थी राजनीतिमा सक्रिय हुनुभयो। नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको सदस्यता लिएर उहाँले राजनीतिको औपचारिक यात्रा तय गर्नुभएको हो। २०४६ सालको आन्दोलनतामा उहाँ राजविराज क्याम्पसमा स्नातक तहको अध्ययन गर्दै हुनुहुन्थ्यो।
२०४८ सालमा भएको विद्यार्थी युनियनको चुनावमा उहाँ राजविराज क्याम्पसको स्ववियु सदस्यमा विजयी हुनुभयो । त्यसपछि उहाँको राजनीतिक सक्रियता बढ्दै गएको देखिन्छ। २०५१ सालमा सप्तरी जिल्ला एमाले महिला फन्टको सचिव बनेर काम गर्नुभएकी झालाई २०५४ सालमा राजविराज नगरको उपप्रमुखको उम्मेदवार बनाउने चर्चाले राजनीतिमा स्थापित गरायो। तर, चर्चा उहाँको नाममा भए पनि टिकट अर्कै पुरुष उम्मेदवारले पाएपछि उहाँले राजनीति भन्दा उच्च शिक्षालाई प्राथमिकता दिनुभयो । उच्च शिक्षाका लागि काठमाडौँ आएर एकसाथ त्रिभुवन विश्वविद्यालयमा एमए र नेपाल ल क्याम्पसमा एलएलबीमा भर्ना हुनुभयो । उच्च शिक्षा अध्ययनसँगै झा अनेम सङ्घबाट राजनीतिमा सक्रिय बन्नुभयो । अनेमसङ्घको सदस्य र केन्द्रीय सचिव बन्दै उहाँले एमालेको आठौं, नवौं र १० औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने तयारी गर्नुभयो । तर नेतृत्वले सदैव निर्वाचन समितिमा राखेर केन्द्रीय सदस्य बनाउने आश्वासन मात्र दिएको आक्रोश उहाँसँग आजसम्म ताजै छ । इमानदार भएर जिम्मेवारी पूरा गर्दा आफूलाई केन्द्रीय राजनीतिबाट टाढा राखिएको उहाँको गुनासो छ । पटकपट केन्द्रीय राजनीतिमा आश्वासन मात्र पाए पनि उहाँले राजनीति छोड्नु भएन । एमाले र माओवादीको एकतापछि नेकपा बनेपछि उहाँ जिल्लामा सक्रिय हुनुभयो ।
मधेश आन्दोलनको दबदबा भइरहेको समयमा उहाँले २०६४ सालमा पहिलो संविधान सभा निर्वाचनमा सप्तरी ३ बाट टिकट पाउनुभयो । तर ठुला पार्टीविरुद्ध मधेश आन्दोलनले बनाएको माहोलमा उहाँ पराजित हुनुभयो । २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा चुनावमा भने उहाँ तत्कालीन अनेम सङ्घका अध्यक्ष पूर्व राष्ट्रपति विद्या भण्डारीको अनुरोधमा समानुपातिक सूचीमा बस्नुभयो ।
२०७० सालमा संविधान सभा सदस्य बनेपछि झाले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । संविधानको मस्यौदा समितिमा बसेर उहाँले एमालेको तर्फबाट कानुन निर्माणका लागि विशेष जिम्मेवारी निर्वाह गर्नुभयो । संविधान सभाको महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको सभापति बनेर उहाँले काम गर्नुभयो । समिति सभापति बन्दा उक्त समितिले महत्त्वपूर्ण १६ वटा कानुन बनाएको थियो । तिनै कानुनको आडमा संविधानमा महिलाका अधिकार स्थापित गर्ने सफलता मिलेको उहाँको अनुभव छ।२०७९ सालमा सप्तरीबाट प्रतिनिधि सभा सदस्य बनेपछि झा अहिले संसदको कानुन न्याय तथा मानव अधिकार समिति सदस्य हुनुहुन्छ।आफ्नो राजनीतिक जीवनको उच्च पद संसदीय समिति सभापति भएको समयलाई महत्त्वपूर्ण अवसर मान्ने उहाँ समितिलाई प्रभावकारी बनाउन जिम्मेवार पार्टीले उपेक्षा गर्नु नहुने बताउनुहुन्छ । झागबन्डामा सभापति बनाएर संसदीय समितिको गरिमालाई कमजोर बनाउनु नहुनेमा उहाँको जोड छ।
झा ३५ वर्ष सङ्घर्ष गरेको पार्टी एमाले परित्याग गरेर पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) नेपालमा आबद्ध हुनुहुन्छ। उहाँ २०७८ साल चैतबाट एमाले छोडेर जसपामा आबद्ध हुनुभएको हो । जसपाले उहाँलाई केन्द्रीय सचिवको जिम्मेवारी दिएको छ।
प्रस्तुत छ - जसपा सचिव एवम् प्रतिनिधिसभा सदस्य रञ्जुकुमारी झासँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पर्नुभएको भिडियो सामग्री :