• ८ वैशाख २०८२, सोमबार

शिक्षालाई प्रविधिसँग जोड्नुपर्छ : प्रधानमन्त्री ओली

blog

प्रधानमन्त्री केपी शर्मा ओली मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रजनी योगी

रजनी योगी
सुर्खेत, फागुन २३ गते ।
प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति  केपी शर्मा ओलीले शिक्षालाई प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार सुर्खेतमा आयोजित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

‘‘जुन मुलुकले आफ्नो मुलुकमा रहेका स्रोतसाधनको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन, आजको भूमण्डलीकरणको युगमा युग अनुकूलको नागरिक निर्माण गर्न सक्दैन, त्यो मुलुक विकासको दौडमा पछाडि पर्ने निश्चित हुन्छ ।,’’ उहाँले भन्नुभयो । डिजिटल शिक्षा आजको आवश्यकता भएको समेत उहाँले बताउनुभयो ।


मध्यपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आजको युग कृत्तिम बौद्धिकतायुक्त प्रविधि र सिर्जनशीलताको युग भएको उल्लेख गर्नुुहुँदै उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अर्बौं पुँजी विदेश पलायन हुनु चिन्ताजनक रहेको बताउनुभयो  । उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा पुगेका देशका कर्णधारको व्यवस्थित शिक्षा आर्जन, सुरक्षा र स्वदेश फिर्तिलाई सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा रहेका विश्वविद्यालयले समयानुकूल विषय र कार्यक्रमका माध्यमबाट शिक्षा लिनैका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने जानकारी दिनुभयो । शिक्षा केबल डिग्री प्राप्त गर्नु मात्र नभई जीवनलाई सही दिशा दिने मार्ग रहेको उहाँले बताउनुभयो । दीक्षित भएका विद्यार्थीलाई ओलीले आफ्नै देशमा नवीनतम् काम गर्न सुझाव दिनुभयो । 

तस्बिर : प्रधानमन्त्रीको सचिवालय



यो पनि पढ्नुहोस