विजयकुमार साह
ढल्केबर, फागुन २३ गते । धनुषामा सहकारीको ८० लाख रुपियाँ लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका ४० वर्षीय भरतकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नै जनक महतो र श्रवण कापरलाई पक्राउ गरिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले २०८१ वैशाख २४ गते धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरमा रहेको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी विरेन्द्रकुमार महतोले बोकेको ८० लाख रुपियाँ लुटपाट घटनामा संलग्न रहेको आरोपमा महतोलाई पक्राउ गरिएको बताउनुभयो । उहाँलाई बुधबार पक्राउ गरी अदालतको आदेशअनुसार सिन्धुली कारागार चलान गरिएको उहाँले जानकारी दिनुभयो ।
सहकारीका कर्मचारी महतोले जनकपुरस्थित हिमालयन बैंक लिमिटेड शाखाबाट सो रकम झिकेर ज ७ प ५१५१ नम्बरको मोटरसाइकलमा सवार भएर रघुनाथपुर जाने क्रममा जनकपुरधाम–१९, थुमौनामा लुटिएका थिए । उहाँलाई नम्बर नखुलेको मोटरसाइकलमा आएका तीन जनाको हतियारधारी समूहले उक्त रकम लुटपाट गरेका थिए ।
प्रवक्ता सिंहका अनुसार अनुसन्धानको क्रममा प्रहरीले विभिन्न प्रमाणहरू सङ्कलन गर्दै जाँदा लुटपाटमा संलग्न मुख्य अभियुक्त भरतकुमार महतो रहेको पुष्टि भएको थियो । फरार रहेका महतोको खोजी गर्दै जाँदा उहाँलाई धनुषाबाट पक्राउ गर्न प्रहरी सफल भएको उहाँले बताउनुभयो ।