गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २३ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजन तथा नेपाल चेम्बर अफ कमर्स र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) को आयोजनामा काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको व्यापार सम्मेलन हुने भएको छ । दिगो र आत्मनिर्भर अर्थतन्त्र भन्ने नारासाथ दोस्रो संस्करणको ‘नेपाल बिजनेस समिट’ आगामी वैशाख ७ गते हुन लागेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
सम्मेलनमा सङ्घीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैङ्किङ क्षेत्रका ज्ञाता, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रसम्बद्ध अग्रणी संस्थाका नेतृत्वगण, बैङ्क तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक तथा उच्च अधिकारी, लब्धप्रतिष्ठित उद्योगी एवं व्यवसायी, नवप्रवर्धनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आइटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्केका उद्यमशील जनशक्ति तथा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीसहित पाँच सयभन्दा बढीको सहभागिता रहने सम्मेलन आयोजक कमिटीका संयोजक विशाल गैरेले जानकारी दिनुभयो ।