निशा राई
धरान, फागुन २२ गते । धरान उपमहानगरपालिकामा तीन राउन्ड हवाई फायर गरेर दुई सय २५ केजी गाँजा नियन्त्रणमा लिएर एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बिहान धरान–२० चिमफुले खोलाबाट गाँजा ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले भरिया आउँदै गरेको अवस्थामा रोकेर चेक जाँच गर्न खोज्दा भरिया भारी छोडेर भागेका थिए ।
उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउन्ड हवाई फायर गरी धनकुटाका ४३ वर्षीय हरिकुमार राई र ९ वटा बोरामा प्लास्टिकसहित दुई सय ३० केजी र प्लास्टिक बाहेक दुई सय २५ केजी गाँजा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो ।
हाल पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । फरार व्यक्तिको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो।