• ८ वैशाख २०८२, सोमबार

गुरु रेम्बोर्छेको मूर्तिमा प्राणप्रतिष्ठा

blog

प्राण प्रतिष्ठा गरिएको गुरु रेम्बोर्छे (पद्मसम्भव) को मूर्ति । तस्बिर : बाबुराम शर्मा

दोलखा समाचारदाता

दोलखा, फागुन २२ गते । दोलखाको भीमेश्वर नगरपालिका–६, चोथाङमा निर्माण हुने बहुसांस्कृतिक सङ्ग्रहालय क्षेत्र अन्तर्गत गुरु रेम्बोर्छे (पद्मसम्भव) को मूर्ति अनावरण गरिएको छ ।

बागमती प्रदेश सरकारको १५ लाख रुपियाँ, नगरपालिकाको १५ लाख, सहरी शासकीय क्षमता विकास कार्यक्रमको १५ लाख र अन्य आर्थिक सङ्कलन पाँच लाख गरी कुल ५० लाख रुपियाँमा पोखरीसहितको मूर्ति निर्माण गरिएको हो । नपुग थप आर्थिक सङ्कलन गरी रङरोगनको काम गरिएको छ । 

मूर्ति निर्माण सम्पन्न भएपछि बौद्ध धर्मगुरु उर्गेन छ्योङहेसे डोल्पो टुल्कु रिम्पोर्छेले पूजासहित पद्मसम्भवको मूर्तिमा प्राण प्रतिष्ठा गर्नुभएको वडाध्यक्ष नवीन लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्राण प्रतिष्ठा कार्यक्रममा खेन्पोसोनम छिरिङ तामाङ, खेन्पो मिग्मार लामा र दर्जनौँ लामा गुरुको समेत उपस्थिति रहेको थियो । वाङ आयुबाट अभिषेक पूजा कार्यक्रमसमेत भएको छ । 

पोखरीसहितको १४ फिट अग्लो पिल्लरमा १६ फिट अग्लो मूर्ति निर्माण भएको छ । पिल्लरको चारैतिर कमलको पूmल अङ्कित छ । मूर्तिको पछिल्लो भागमा विभिन्न बौद्ध मन्त्र राखिएका छन् । यसका लागि मात्रै साढे १८ लाख रुपियाँ लागेकाले नपुग रकम चन्दाबाट जुटाइएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । 

तीन लाख १५ हजार लिटर क्षमताको गोलो पोखरीमा निलो रङको टाइल राख्नुका साथै पोखरीको चारैतिर घेराबारा लगाइएको छ । वडाध्यक्ष लामाले भन्नुभयो, “पछाडिपट्टिको डिलमा विभिन्न तस्बिर राखिनुका साथै बहुसांस्कृति सङ्ग्रहालयको ठुलो तस्बिर राखिने योजना रहेको छ । 

यो सङ्ग्रहालय निर्माणका लागि वडाको पाँच लाख रुपियाँको लागतमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको हो । परियोजना प्रतिवेदन तयार भएसँगै बाँकी संरचना निर्माणका लागि भीमेश्वर नगरपालिकामा पेस गरिएको छ । वडाध्यक्ष लामाले भन्नुभयो, “लगानीका लागि नगरपालिका, प्रदेश, सङ्घ तथा खुला रूपमा पनि आग्रह गर्न लागिएको छ ।”