• ३ असार २०८१, सोमबार

भेरी अस्पतालमा पहिलो पटक जोर्नी प्रत्यारोपण सेवा सुरु

blog

भेरी अस्पालमा पहिलो पटक जोर्नी प्रत्यारोपण गर्दै अर्थोपेडिक विभागको टोली । तस्विर - सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, जेठ १७ गते । पश्चिम नेपालको स्वास्थ्य हब बन्दै गएको नेपालगञ्ज, कोहलपुर र खजुरामा रहेका विभिन्न स्वास्थ्य संस्थाले स्वास्थ्य उपचारमा दिनदिनै नयाँ नयाँ सेवा दिइरहेका छन् । 

पछिल्लो समयमा नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा सुरु गरेर जोर्नीसम्बन्धी रोगका विरामीका लागि महत्वपूर्ण उपचार शुरु गरिएको छ ।  

पश्चिम नेपालका सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको सरकारी अस्पताल भेरी अस्पतालले एकपछि अर्को विशिष्टीकृत सेवा थप्दै गएकोमा हाल आएर जोर्नी प्रत्यारोपण सेवा पनि सुरु गरेको हो । 

यस क्षेत्रका बिरामीलाई जोर्नी प्रत्यारोपणका लागि भारतको लखनउ र काठमाडौं जानुपर्ने बाध्यता रहेकाले भेरी अस्पतालमा सो सेवा शुरु गरिएपछि उक्त बाध्यताको पनि अन्त भएको छ । 

बाँके खजुरा गाउँपालिकाका ४५ वर्षीय हनुमान यादवको बायाँतिरको हिपको पूर्ण प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेर जोर्नी प्रत्यारोपण सेवा सुरु गरिएको अस्पतालका अर्थोपेडिक सर्जन तथा पूर्व मेसु डा. प्रकाश थापाले जानकारी दिनुभयो । 

उहाँले मंगलबार विहान ८ बजेदेखि १० बजेसम्म करिब दुई घण्टा लगाएर सो सफल शल्यक्रिया गरिएको बताउनुभयो । 

डा. थापाका अनुसार भेरी अस्पतालमा यसखालको जटिल शल्यक्रिया पहिलोपटक गरिएको हो । अस्पतालको अर्थोपेडिक विभागका प्रमुख डा. तीर्थेन्द्र खड्काको नेतृत्वमा डा.ऋषि विष्ट, डा. प्रकाश थापा, डा. राहुल मिश्र, एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डेलगायतको टीम सो शल्यक्रियामा संलग्न रहेको भेरी अस्पतालका प्रमुख डा. वीरेन्द्रबहादुर चन्दले बताउनुभयो । 


Author
सिराज खान

उहाँ नेपालगञ्जबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।