• ३० वैशाख २०८१, आइतबार

सेयर बजार ओरालो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १७ गते ।  सेयर बजार ओरालो लाग्ने क्रममा दुई हजार एक सयको बिन्दुमा आइपुगेको छ । सरकारले नीति तथा कार्यक्रम ल्याएको दिनदेखि उकालो लागेको सेयर बजार बजेट आउनुअघिदेखि नै ओरालो लाग्न सुरु गरेको थियो । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ५०.३३ अङ्कले ओरालो लागेर २१७३.४४ कायम भएको छ । सेन्सेटिभ इन्डेक्स पनि १०.३३ अङ्कले ओरालो लागेर ४२२.७४ को बिन्दुमा पुुगेर रोकिएको छ । समग्रमा सोमबारको नेप्से २.२६ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि २.३८ प्रतिशतले ओरालो लागेको छ ।

सोमबार बजार खुलेलगत्तै उकालो लागेको बजार कारोबार सुरु भएको नौ मिनेटसम्म केही उकालो लागेर २२३३ अङ्कसम्म उक्लिएको थियो । त्यसपछि बजार ओरालो लागेको हो ।

लगानीकर्ताको सेयर बजारमा ४/१२ नीति, आयातमा शतप्रतिशत मार्जिन, कर्जा खुकुलो बनाउने तथा नीतिगत ब्याजदर कम गर्ने अपेक्षा पूरा नभएपछि बजार ओरालो लागेको लगानीकर्ताको ठम्याइ छ ।

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नीतिगत दर यथावत् राख्दै आवश्यकताअनुसार ब्याजदर चलाउने नीति सार्वजनिक परेपछि साताको अन्तिम दिन बजारमा नकारात्मक प्रभाव देखिएको थियो ।

शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक १५.८२ अङ्कले ओरालो लागेर २२२३.७८ को बिन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ३.४० अङ्कले ओरालो लागेर ४३३.०७ को बिन्दुमा पुगेर रोकिएको थियो । 

सोमबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२२ प्रतिशतले ओरालो लागेको सोमबार जीवन बीमाको परिसूचक २.८५ प्रतिशतले ओरालो लागेको छ । बैङ्किङ, विकास बैङ्क, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य २.८५, म्युचुअल फन्ड र लगानी उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

सोमबार २२७ कम्पनीको ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा चार करोड रुपियाँले बढी हो ।

सोमबार चार करोड ९६ लाख रुपियाँ बराबरको सेयर कारोबार भएर कारोबार रकमका आधारमा नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी र एनआईसी एसिया बैङ्कको चार करोड रुपियाँभन्दा बढीको सेयर खरिद बिक्री भएको छ ।

मर्जरका कारण रोकिएर एक वर्षपछि कारोबारमा आएको नेपाल इन्भेस्टमेन्ट बैङ्कको सेयर सोमबार नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बैङ्कको सेयर मूल्य ४० रुपियाँ ७९ पैसा घटेर ३६७ रुपियाँ ७० पैसामा अन्तिम कारोबार भएको छ ।