• १६ फागुन २०८१, शुक्रबार

नेपालमा लगानी थप्न अर्थमन्त्रीको आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १६ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठुलो सम्भावना रहेको बताउनुभएको छ । नेपाल–जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिसँगको शिष्टाचार भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले नेपाल–जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्तालाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । पौडेलले विदेशी लगानीकर्ताका लागि जलविद्युत्, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीका लागि आकर्षक क्षेत्र रहेकाले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गर्नुभयो । उहाँले सरकारले निजी क्षेत्रका सरोकारलाई सम्बोधन गरी विभिन्न कानुन अध्यादेशमार्फत संशोधन गरी लगानीका लागि अझ सहज वातावरण तयार गरेको जानकारी दिनुभयो । टोलीमा फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्यालीलगायत एक दर्जनभन्दा बढी कम्पनीका प्रतिनिधि सहभागी थिए ।